आयाक्सका कप्तान डे लिग्ट अब बार्सिलोनामा

बैशाख २७ – डच टोली आयाक्सका कप्तान माथिस डे लिग्ट क्याटलान क्लब बार्सिलोना जाने भएका छन् । हालै मात्र आयाक्सलाई युईएफए च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुराएका डे लिग्ट बार्सिलोना जाने भएका हुन् ।
डे लिग्ट र बार्सिलोना बिच सम्झौता भईसकेको छ । सम्झौता अनुसार डे लिग्ट ७० मिलियन युरोमा बार्सिलोना जान लागेका हुन् । उनलाई प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले पनि क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर डे लिग्टले आफु बार्सिलोना जान चाहेको बताएका थिए ।
डे लिग्टले आयाक्सलाई च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुराएका थिए । उनको कप्तानीमा आयाक्सले यस सिजनको च्याम्पियन्स लिगमा शशक्त खेल प्रदर्शन गरेको थियो । आयाक्सले स्पेनिस महारथी रियल मड्रिड र सिरी ए क्लब युभेन्ट्सलाई समेत पराजित गरेको थियो । तर सेमिफाइनलमा भने टोटेनहमसँग पराजित भयो । उक्त खेल पछी आयाक्सका कार्यकारी अधिकृत एडविन भान डर सारले डे लिग्टले क्लब छाड्ने प्रष्ट पारेका थिए ।
‘अब केहि खेल डे लिग्टका लागि आयाक्सको जर्सीमा अन्तिम खेल हुने छन् । उनी सायद इंग्ल्यान्ड वा स्पेनको क्लबमा जानेछन्,’ भान डर सारले भने । बार्सिलोनाले यसअघि आयाक्सकै अर्का युवा खेलाडी फ्रान्की डे जोङलाई टोलीमा अनुबन्ध गरिसकेको छ । डे लिग्ट र डे जोङ जस्ता प्रतिभावना युवा खेलाडीहरुको आगमनले बार्सिलोना झनै बलियो हुने देखिएको छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया