भरतपुर महानगरका बत्तीस प्रतिशत बासिन्दा खानेपानीबाट वञ्चित
सूर्यप्रसाद अधिकारी, बैशाख २७,चितवन । भरतपुर महानगरपालिकाका ३२ प्रतिशत बासिन्दा शुद्ध खानेपानीको पहुँचबाहिर रहेको पाइएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले बिहीवार भरतपुरमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी दिइएको हो । बोर्ड र अन्य उपभोक्ता समितिमार्फत खानेपानी आपूर्ति हुन नसक्दा उक्त संख्याका नगरवासीले ट्युबवेल, खोला र इनारको पानी उपभोग गर्नुपर्ने बाध्यता छ ।
स्रोतसाधनको अभावका कारण नगरका सबै क्षेत्रमा खानेपानी पुर्याउन नसकिएको बोर्डका कार्यकारी अधिकृत प्रजापति दाहालले बताए । ‘कतै जनघनत्व कम छ, कतै डीप बोरिङका लागि जग्गा अभाव छ,’ उनले भने । उनका अनुसार कतिपय नागरिकमा जनचेतनाको अभावका कारण पनि शुद्ध खानेपानी प्रयोग गर्ने बानीको विकास भएको छैन ।
२९ वडा भएको भरतपुर महानगरपालिकामा बोर्डले हाल १ देखि १६ सम्मका वडामा खानेपानी पुर्याएको छ, जसमध्ये महानगरका चार क्षेत्रमा ओभरहेड ट्यांकीमार्फत सेवा दिइएको छ भने अन्य ठाउँमा सीधै पानीको मुहान र ग्राउन्ड रिजर्भ ट्यांकीमार्फत सेवा पुर्याएको छ । महानगरका कतिपय वडामा नेपाल सरकार मातहतका उपभोक्ता समितिमार्फत पनि खानेपानीको सुविधा दिइएको दाहालले बताए । उनका अनुसार बोर्डबाट ४३ प्रतिशत र उपभोक्ता समितिमार्फत २५ प्रतिशत नगरवासीले खानेपानी सुविधा पाएका छन् ।


पानीको अभाव भएका क्षेत्रमा डीप बोरिङका लागि चाहिने जग्गाका लागि महानगरसँग पहल भइरहेको दाहालको भनाइ छ । खानेपानीका लागि विभिन्न ठाउँमा बोरिङ र ट्यांकी राख्ने काम भइरहेकाले समस्या छिट्टै समाधान हुने उनले बताए । २०६९ भदौ २० गते नेपाल खानेपानी संस्थानको भरतपुर शाखाको सम्पत्ति र दायित्व भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएसँगै यसले स्वायत्त संस्थाको रूपमा कार्य गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया