उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !
बैशाख २४, २०७६,काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तीनवटा गाडी प्रयोग गर्ने गरेको पाइएको छ ।
मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरण अनुसार मन्त्री यादवले आफ्नै नाममा तीनवटा गाडी लिएका छन् ।
बा२झ १०७३ नम्बरको सोनाटा कार, बा२झ २३४६ नम्बरको टाटा स्ट्रोम जीप र बा२ज ३०९१ नम्बरको टोयोटा रेफो मन्त्री यादवले प्रयोग गर्ने गरेको विवरणले देखाउँछ ।
यसका अलावा मन्त्री यादवका सल्लाहकारको नाममा पनि एउटा गाडी छुट्ट्याइएको छ । सल्लाहकार विश्वप्रकाश सुवेदीले बीएए ३९७३ नम्बरको गाडी चढ्छन् ।
मन्त्रीलाई ३ वटा गाडी किन ? मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सह-सचिव पुष्पराज शाहीले आवश्यकताकै कारण मन्त्रीले तीनवटा गाडी प्रयोग गरेको बताए ।
‘तीनवटा मन्त्रालय एउटा भएको हो । कार्यभारको हिसाबले पनि भूमिका ठूलो छ । उहाँ एक्लैले गरेर हुँदैन । छिटो छरितो गर्न हेल्पिङह्याण्ड चाहिन्छ । ठाउँ-ठाउँमा कुदाउनुपर्छ,’ सहसचिव शाहीले भने- ‘उहाँको कामलाई इफेक्टिभ ढंगले सम्पन्न गराउनका लागि हो । गाडी दुरुपयोग भएजस्तो मलाई लाग्दैन ।’
यस्तै सचिव केदारबहादुर अधिकारीले बा१झ ८६१२ नम्बरको पिकान्टो कार र सचिव यामकुमारी खतिवडाले बा२झ २१२५ नम्बरको टाटा स्ट्रोम जीप चढ्छन् ।
शाखा अधिकृतलाई पनि गाडी !
खासमा चारपांग्रे सवारी सुविधा सचिव र सहसचिवले मात्र पाउने हो, तर यस मन्त्रालयमा उपसचिव मात्र होइन, शाखा अधिकृतले पनि चारपांग्रे सवारी सुविधा लिने गरेको देखिन्छ ।
वाणिज्य सचिव केदारबहादुर अधिकारीको सचिवालयमा रहेका शाखा अधिकृत दिनेश त्रिपाठीले बीएए ३९८३ नम्बरको पिकान्टो कार चढ्छन् ।
अधिकांश उपसचिवले पनि गाडी सुविधा लिएका छन् । उपसचिव तथा शाखा अधिकृतहरू समेतलाई कुन ऐन, कार्यविधि वा नियमका आधारमा सवारी सुविधा दिनुभएको हो भन्ने प्रश्नमा सह-सचिव शाहीले भने- ‘म आएको दुई महिना मात्र भयो, पहिलेदेखि उहाँहरूले प्रयोग गर्दै आउनुभएको रहेछ । पहिलाको तीनवटा मन्त्रालयका गाडी छन् । दातृ निकायबाट आएका गाडी पनि छन् । त्यत्तिकै राख्दा पनि खिया लाग्ने, दिउँ न त भनेर दिए होलान् ।’ लोकान्तरबाट
तपाइँको प्रतिक्रिया