किन टिक्दैनन् राजधानीका प्रहरी प्रमुख, २७ महिनामै ४ जना फेरिए

बैशाख२३,काठमाडौं- काठमाडौंको प्रहरी प्रमुख भएर आएको ९ महिनामै वरिष्ठ प्रहरी उपरीक्षक-एसएसपी बसन्त लामाको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले लामाको सरुवा गर्दै उनको स्थानमा एसएसपी उत्तमराज सुवेदीलाई ल्याएको छ।
सुवेदी यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए। यसअघि लामाले विस्थापन गरेका एसएसपी विश्वराज पोखरेल ६ महिना पनि काठमाडौंमा टिक्न सकेका थिएनन्। हाल लागूऔषध नियन्त्रण ब्युरोमा रहेका पोखरेलको केही दिनअघि मात्र प्रहरी नायब महानिरीक्षक-डीआइजीमा बढुवा सिफारिस भएको थियो।
पोखरेल, लामा, सुवेदी र धानुक प्रहरी निरीक्षकमा एउटै ब्याची हुन्। एसएसपी हुँदा पनि उनीहरुको सँगै बढुवा भएको थियो। तर डिआइजीमा बढुवा सिफारिस हुने पोखरेल उनको ब्याचका एकमात्र प्रहरी अधिकृत हुन्। प्रहरी नियमावलीमा कुनै स्थानमा सरुवा भई पदस्थापन भएको मितिले एक वर्ष नपुगी प्रहरी कर्मचारीलाई सरुवा गर्न नहुने र यदी त्यसो गर्नुपरे सोको कारण स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था छ।


अर्थात एक वर्ष पनि नपुगी सरुवा भए त्यसलाई काम गर्न नसकेको वा कार्य क्षमता अभाव भएको भनेर बुझिने गरिएको छ। प्रहरी नियमावलीमा जे लेखिएको भएपनि कार्यलय प्रमुख र सिनियर प्रहरी अधिकृतको हकमा मात्र एक वर्ष पुगेलगत्तै सरुवा गर्ने व्यवस्था छ। सोमबार गृहमन्त्रालयले निकालेको सरुवामा धिरज प्रताप सिंहको पनि नाम छ जो १३ महिना महानगरीय प्रहरी अपराध महाशाखामा प्रमुख भएर तालिम निर्देशनालयमा जाँदैछन्।
कुनै कार्यालय प्रमुखको एक वर्ष अवधि पुग्न लाग्दादेखि नै त्यहाँ काज मिलाएर सरुवा हुने अभ्यास नै बनेको छ, प्रहरी चौकीदेखि इलाका, वृत्त, जिल्ला हुँदै अपराध महाशाखा र विभिन्न ब्युरोहरुसम्ममा। यसमा पनि महत्वपूर्ण कार्यालयको हकमा भने बहालवाला तानेर आफू त्यहाँ पुग्नेसम्मका खेलहरु लामो समयदेखि चलिआएका छन्। राजनीतिक नेतृत्व र प्रहरी प्रधान कार्यालय समेत ती कार्यालयमा हुने सरुवामा चर्चामा आउने गरेका छन्। तीमध्येकै एउटा कार्यालय हो महानगरीय प्रहरी परिसर, काठमाडौं।
देशको राजधानीको प्रमुख प्रहरी कार्यालयमा पछिल्ला २७ महिनामा चार जना प्रमुख फेरिएका छन्। अन्तिमपटक विक्रमसिंह थापाले मात्र काठमाडौं प्रहरी प्रमुखका रुपमा एक वर्ष पूरा गरेका थिए। २०७२ असोजमा काठमाडौं प्रमुख भएका थापा १४ महिना त्यहाँ बसेका थिए। त्यसपछि आएकामध्ये छविलाल जोशीले सात महिना र धानुकले पाँच महिना काठमाडौं प्रमुख भएर चलाएका थिए।
नवराज सिलवालको मुद्दा अगाडि बढाउन सहयोग नगरेको भन्दै धानुकको सरुवा भएको थियो। यसपछि आएका पोखरेल भक्तपुरको बालक अपहरण र हत्या तथा अपहरणकारीको इन्काउन्टरमा विवादित बनेका थिए। अपहरणकारीबाट बालक छुटाउन उनले पठाएको म्यासेज बाहिर आएपछि अनुसन्धानमा कमजोरी गरेको भन्दै पोखरेलको आलोचना भएको थियो।
तर, त्यसअघि नै काठमाडौं प्रमुखमा बसन्त लामाको सरुवा हुन लागेको चर्चा सुरु भइसकेको थियो। साढे ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न बनेको सरकारी छानबिन समितिमा रहेका लामाको पहुँच बलियो बनेपछि पोखरेल ६ महिना नपुग्दै काठमाडौं प्रहरी प्रमुखका रुपमा विदा हुनु परेको थियो। देशसञ्चारबाट
तपाइँको प्रतिक्रिया