जनगणनाका लागि पाँच अर्ब खर्च गरिँदै, पचास हजार गणक परिचालन गरिने

सूर्यप्रसाद अधिकारी,बैशाख २३,चितवन ः २०७८ सालमा गरिने राष्ट्रिय जनगणनाको लागि ५ अर्ब खर्च प्रक्षेपण गरिएको छ भने ५० हजार गणक परिचालन गरिने भएको छ ।
केन्द्रीय तथ्यांक विभाग एवं तथ्यांक कार्यालय चितवनले आइतबार भरतपुरमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सम्बन्धी बिषयक गोष्ठीमा यस बारेमा जानकारी दिइएको हो । कार्यालयले दिएको जानकारी अनुसार २०६८ सालको जनगणनामा ३० हजार गणक खटाइए पनि अहिले विभिन्न सूचकहरु थपिएको र सुक्ष्मरुपले गणना गर्न लागिएकोले गणकहरु थपिने भएको हो ।
अघिल्लो जनगणनामा २ अर्ब रुपैयांँ भए पनि यस बर्ष ५ अर्ब खर्च प्रक्षेपण गरिएको छ । कार्यक्रममा बोल्दै केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले समयको अन्तरालसंंँगै कर्मचारीको तलब, सेवा, सुविधाका साथै छपाई सम्बन्धी कार्यमा बढी खर्च हुने भएकोले ५ अर्ब खर्च अनुमान हुने बताउनु भयो । यसैगरी अघिल्लो गणनामा ३० हजार गणक रहे पनि अहिले बढाएर ५० हजार पु¥याइएको छ ।
उहांँका अनुसार संघीय संरचना अनुसार तीन वटै तहसंँग समन्वय गरी तल्लो तहबाट विभिन्न चरणबाट जनगणना गर्न लागिएकोले खर्चका साथै गणक संख्या बढ्ने भएको हो । ‘अहिले हामीले दुई चरणमा प्रत्येक घरमा जनगणना गर्दैछौं, पहिलेको गणनामा दोस्रो चरण अन्तर्गत स्याम्पलिङ विधिमात्र अपनाएका थियौं’ उहांँले भन्नुभयो । यसपटक विभिन्न सूचकका साथै गणनाको ढांँचा परिवर्तन गरिएकोले खर्च बढ्ने अनुमान गरिएको उहांँले बताउनु भयो ।
‘अहिले सुगम र दुर्गम गरी दुई प्रकारले हामीले गणना गर्ने तयारी गरेका छौं’ उहांँले भन्नुभयो । अघिल्लो जनगणनाभन्दा पृथक एवं प्रविधिमैत्री बनाइने लामिछानेको भनाई छ । जस अनुसार शहरी इलाकामा ट्याबोलोइट, सफ्टवेयर एवं इन्टरनेटको माध्यमबाट तथ्यांक संकलन गरिने छ भने दुर्गमा क्षेत्रमा कागजी प्रक्रियाबाट तथ्यांक संकलन गरिने छ ।
कार्यक्रमममा बोल्दै विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले जनगणनाले देशको नीति निर्माण तथा योजनामा सरकारलाई सहयोग पुग्ने भएकोले जनगणना अपरिहार्य भएको बताउनु भयो । अब हुने जनगणना तथ्यपरक, चुस्तदुरुस्त गर्न विभाग केन्द्रित रहेको उहांँले बताउनु भयो ।
‘प्रत्येक घरको रोजगारी, शिक्षा, व्यवसाय, घरको पूर्वाधार लगायत सबै सूचकको सुक्ष्म तरिकाले तथ्यांक लिने काम हुन्छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार जसले गर्दा प्रत्येक सूचकको तथ्यांक तथ्यपरक हुने र यसले देशको कुल ग्राहस्थ उत्पादन एवं विकास कार्यक्रममा समेत सहयोग पुग्नेछ ।
तथ्यांक कार्यालय, चितवनका प्रमुख जीवराज आचार्यका अनुसार चितवन जिल्लाको लागि यहांँको जनसंख्याको आधारमा विभागले गणक संख्या र लागत अनुमानित खर्च तोक्नेछ । हाल कार्यालयले चितवन जिल्लाको हरेक क्षेत्रको खाका तयारका साथै स्थानीय तहसंँग समन्वय गरी पूर्वतयारी गर्ने काम गरेको छ । जनगणनाको लागि पूर्वतयारीका काम शुरु भएको जानकारी दिँदै विभागले २०७८ साल असार १ देखि १५ गतेसम्म जनगणनाको मिति तोकेको छ ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले अघिल्ला जनगणना तथ्यपरक, यथार्थ नभएकोले काम गर्न अप्ठेरो परेको भन्दै विभागलाई यस कार्यमा गम्भीर रहन आग्रह गरेका थिए । सो अवसरमा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनगणना यथार्थपरक, तथ्यपरक हुनु पर्ने भन्दै यसले महानगरको भूगोल, जातजाति तथा अन्य सूचकको आधारमा ठोस योजना ल्याउन सहयोग पुग्ने बताउनु भयो । तथ्यांकबिना कुनैपनि योजना तथा काम गर्न नसकिने भन्दै उहांँले जनगणनाको लागि महानगर समन्वय र सहकार्य गर्न सदैव तयार रहेको बताउनु भयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले हाल जनगणना यकिन नहुंँदा र पुरानै तथ्यांकको आधारमा बजेट विनियोजन तथा कार्यान्वयन गर्न अप्ठेरो परेको बताउनु भयो । विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक युवराजसिंह पराजुलीले जनगणनाका गणक र सुभरभाइजर अर्थशास्त्र र जनसंख्याका विद्यार्थीहरु राखिएमा बढी प्रभावकारी हुने बताउनु भयो ।
कार्यक्रममा सुझाव दिँदै सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, भरतपुर महानगरपालिकाका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले प्रश्नावलीहरुलाई परिवर्तित गर्नुपर्ने, अनुगमन राम्रो हुनु पर्ने, कम्युटर सफ्टवेयरको प्रयोग बढी गर्नु पर्ने भन्दै सुझाव दिएका थिए । कार्यक्रम विभागका उपमहानिर्देशक डिल्लीराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया