तेस्रो इन्डो नेपाल कराँते प्रतियोगितामा २१ स्वर्ण पदक सहित चितवन प्रथम

चितवन, बैशाख २२ – जापान गोजु रियो कराँते डो केन्वाकाई नेपाल संघ चितवनको आयोजनामा सम्पन्न तेस्रो इन्डो नेपाल कराँते प्रतियोगितामा आयोजित प्रतियोगितामा चितवन प्रथम भएको छ । प्रतियोगितामा २१ स्वर्ण पदक हात पार्दै चितवन प्रथम भएको हो । यस्तै काठमाण्डौ २० स्वर्णसहित दोस्रो भएको छ भने भारतले तेस्रोमा चित्त बुझाएको छ । भारतले १ स्वर्ण, कास्य ४, ८ रजत पदक जितेको हो ।
पहिलो हुने टिमलाई नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र त्यसैगरी तेस्रो हुने भारतीय टीमलाई १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो । यस्तै वेष्ट काता र वेष्ट फाईटका ४ जनालाई ट्रफि र प्रमाणपत्र दिईएको थियो । विजेतालाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पुरस्कार प्रदान गरेका थिए ।
चितवनमा पहिलोपल्ट आयोजित अन्तराष्ट्रिय स्तरको कराते प्रतियोगितामा भारतका २० र नेपालका २ सय ४० गरी २६० जना खेलाडी सहभागी भएको खेल संयोजक पुस्कर आचार्यले जानकारी दिए । भरतपुर १५ मंगलपुरमा आयोजित प्रतियोगितामा विभिन्न ४५ विधामा १८० पदकका लागी प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा महिला तथा पुरुषका उमेर समुह, तौल समुह र खुल्ला गरी ३ समुहमा खेलाईएको थियो । ६ वर्ष देखि १३ वर्षसम्मका खेलाडीले उमेर समुहमा, १३ देखि १९ वर्ष सम्मका खेलाडीले तोल समुहमा प्रतिस्पर्धा गरेका थिए भने १९ वर्ष माथीका खेलाडीले खुल्लामा प्रतिस्पर्धा गरेको प्रमुख प्रशिक्षक राजु पौडेलले बताए । पहिलो इन्डो नेपाल कराँते प्रतियोगिता कामाण्डौमा भएको थियो भने दोस्रो भारतमा भएको थियो ।
तपाइँको प्रतिक्रिया