अब भारत र चीनमा पनि एनटीसीको सिम चल्ने

एटुजेड समाचार

 

बैशाख २२,काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमवारदेखि प्रिपेड अन्तरराष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । यसकोे शुरुआत भारत र चीनबाट हुने नेपाल टेलिकमले उल्लेख गरेको छ ।

अब नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएका बेला आफ्नै मोबाइलबाट नेपालमा फोन गर्न, नेपालबाट आएको फोन उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सकिने टेलिकमले बताएको छ ।

चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा फोन गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्नेछ । त्यसैगरी नेपालबाट गरेको फोन उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ ।

भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्नेछ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्नेछ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैयाँ लाग्नेछ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्नेछैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तरराष्ट्रिय रोमिङ’ सेवाको सार्वजनिक गरेका थिए । सो सेवालाई हाल व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीले हालसम्म जीएसएम पोस्टपेड सेवामा मात्र अन्तरराष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । यसका लागि कुनै थप धरौटी राख्नु नपर्ने र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने बताइएको छ । अभियानबाट

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु