नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण रहेको सांसदहरुको भनाइ

एटुजेड समाचार

काठमाडौँ, बैशाख २२ – नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम वस्तुनिष्ठ भएको तर त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको सांसदहरूले बताएका छन् । प्रतिनिधिसभामा आजदेखि शुरु भएको छलफलमा उनीहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका विकास–निर्माणका आयोजना तथा सरकारका लक्ष्य सराहनीय भए पनि कार्यान्वयनपक्ष चुनौतीपूर्ण हुने बताउनुभयो ।

सत्तारूढ दलका सांसद अग्निप्रसाद सापकोटाले त्यसको समर्थन गर्दै नेपाली मौलिकता कायम हुनुपर्नेमा जोड दिनुभयो । एक पृथक प्रसङ्गमा उहाँले देशभरका सरकारी र गुठी जग्गा छानबिन गर्न सदनले ऐन नै पारित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचार निर्मूल गर्न त्यसो गर्नु अपरिहार्य भएको बताउनुभयो ।

सत्तारूढ दलकै अर्का सांसद खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयुक्त भएको ‘मेरो सरकार’ भन्ने शब्दावलीका विषयमा अनावश्यक टिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले सहकार्यका आधारमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्दै विकास निर्माणको कामलाई सत्तापक्ष र प्रतिपक्ष नभनी क्रियाशील हुन प्रमुख प्रतिपक्ष दलको ध्यानकर्षण गराउनुभयो ।

नेकपाका सांसद सत्या पहाडीले  नीति तथा कार्यक्रमले जनशक्तिको विकासलाई योजनाबद्ध तवरले अगाडि बढाउने वातावरण तयार पारेको भन्दै बजेट पनि त्यसै आधारमा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सामाजिक र आर्थिक विकासको यात्रामा अगाडि बढ्ने बेला शब्दमा अल्झेर बस्न हुँदैन । सत्तापक्ष र प्रतिपक्षको सीमा हुनुहुन्न ।”

नेपाली काङ्ग्रेसका दिलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रममा सङ्घीयतालाई सुदृढ बनाउने विषयवस्तु समेट्न नसकिएको उल्लेख गर्दै गाउँगाउँका योजनामा रकम उपलब्ध गराइएको आरोप लगाउनुभयो । रातो पुस्तकमा उल्लेख नभए पनि रकम पुगेको उहाँको कथन थियो ।

काङ्ग्रेसक सांसद पुष्पा भुसालले नीति तथा कार्यक्रममा महिलाको विषय समावेश नगरिएको गुनासो गर्नुभयो । छात्रालाई स्यानेटरी प्याड र महिला हिंसा अन्त्य गर्ने विषय उल्लेख भए पनि   कार्यान्वयन हुनेमा आशङ्का रहेको धारणा व्यक्त गर्नुभयो ।

सांसद राजेन्द्र श्रेष्ठले पूर्वाधार विकासलाई दिइएको प्राथमिकता सराहनीय रहेको, सहकारीका सिद्धान्त अपनाएर सङ्घीयतालाई सुदृढ तुल्याउनुपर्ने, पर्याप्त बजेट स्थानीय तह र प्रदेशलाई उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो । सबै विषयलाई काठमाडौँ केन्द्रित गर्न नहुने र सातै प्रदेश तथा ठूला शहरमा सरकारको ध्यान पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राजपाका सांसद शरत्सिंह भण्डारीले नीति तथा कार्यक्रममा समावेश भएको भाषासमेत राम्रो नभएको टिप्पणी गर्दै “सरकारले राम्रो लेखनदाससमेत पाएन । योभन्दा विडम्बना अरू के हुन सक्छ”, भन्नुभयो । सोही दलकै सांसद राजकिशोर यादवले आर्थिक समृद्धिको नारालाई कार्यान्वयन हुने गरी कार्यक्रम नआएको भन्दै असन्तोष प्रकट गर्नुभयो ।

सांसद रेणुका गुरुङ, पार्वती डिसी चौधरी, दलबहादुर रानालगायतले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको थियो ।राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।  (रासस)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू