नेपाली महिलासहित सातजनाको हत्या प्रकरण–साइप्रसका कानुनमन्त्रीद्वारा राजीनामा, प्रहरी प्रमुख बर्खास्त

निकोसिया । सिरियल किलरले आप्रवासी महिला र बालिकाको हत्या गरेको भन्ने खुलासा भएपछि साइप्रसका कानुनमन्त्रीले पदबाट राजीनामा दिएका छन् भने प्रहरी प्रमुखलाई बर्खास्त गरिएको छ ।
एक जना सैनिक अफिसरले हालै सो हत्या प्रकरणको जिम्मेवारी लिएको थियो । तर, झण्डै तीन वर्षदेखि भइरहेका त्यस्ता घटना लामो समयसम्म जानकारीमै थिएनन् । कानुनमन्त्री आयोनास निकोलाउले आफूले सो घटनामा राजनीतिक जिम्मेवारी लिएर राजीनामा दिएको जनाएका छन् ।
उनले आफू सो घटनामा व्यक्तिगत रुपमा भने संलग्न नभएको बताएका छन् । एक जना ३५ वर्षीय गृक साइप्रिट आर्मी अफिसर सो घटनामा संलग्न भएको अभियोगमा अहिले हिरासतमा रहेका छन् । सरकारी अधिकारीहरुलाई हराएका आप्रवासी महिलाहरुको बारेमा राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाइएको छ ।


उनको आफ्नो निर्णय सार्वजनिक गर्दै कानुनमन्त्री निकोलाउले देशको प्रहरीको उजुरी सम्बन्धी आयोगलाई प्रारम्भमा भएको कमजोरीको बारेमा स्वतन्त्र रुपमा अनुसन्धान गर्न आग्रह गरेका छन् ।
“मैले कुनै अनादर गरेको होइन । तर स्वतन्त्र खालको अनुसन्धान हुनुपर्छ भन्ने हो । त्यो अनुसन्धानले पहिला भएको त्रुटिलाई संकेत गर्नेछ,” उनले पत्रकारहरुसँग भनेका छन् । घटनाको विरोध गर्दै प्रदर्शनकारीहरुले सरकारी अधिकारीबाट लापर्बाही भएको र त्यसलाई सम्बोधन गर्ने मामिलामा जातीय रुपमा घटनालाई हेरेको आरोप लगाएका छन् ।
साइप्रसका राष्ट्रपति निकोज अनास्तासियाडेसले मन्त्री निकोलाउको राजीनामा स्वीकृत गर्दैै आफ्नो एकजना नजिकको सहयोगीबाट बञ्चित हुनुपरेको बताएका छन् ।
कानुनमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले सो घटनालाई लिएर प्रहरी प्रमुख जाकारियास क्रिसोस्टोमोउलाई पनि बर्खास्त गरेको द गार्जीयनले जनाएको छ । प्रदर्शनकारीहरुले कानुन मन्त्री र प्रहरी प्रमुखको राजीनामाको माग गरेका थिए ।
यसरी आयो हत्याको प्रसंग
मेरी रोज त्रिबुर्किओ, एरिएन पालानास लोजानो र मरिकार भाल्टेज अर्कुओलियो समेतका तीन जना फिलिपिन्सका घरेलु कामदारलाई सिरियल किलरले मारेको थियो ।
साइप्रस टाइम्सका अनुसार नेपालकी अस्मिता खड्का बिष्ट, रोमानियाकी लिभिया बुनिया, उनकी छोरी एलिना, टिबुकियोकी छोरी ६ वर्षीय सियरा समेतको सो व्यक्तिले हत्या गरेको थियो । केही महिलाहरु हराएको भनेर उजुरी परेपनि पत्ता लाग्न सकेको थिएन । तर, तीन साता अघि टिबुर्कियो र लोजानोको शव फेला परेको थियो ।
एक जना जर्मन पर्यटक निकोसियाको पश्चिममा रहेको एउटा तालमा जाँदा कतिपय सामान देखिएका थिए । ठूलो पानी परेको बेलामा बाढीले बगाएर त्यहाँ एउटा साफ्ट (बञ्चरो जस्तै हतियार) र शव बाहिर किनारामा ल्याएको थियो । प्रहरीले रेड लेक भनिने विषालु तालमा थप शव हुन सक्ने भन्दै खोजी जारी राखेको छ । त्यसपछि प्रहरीले रेड लेक अर्थात् कोकिनोपेजोउला तालमा खोजी गरेको थियो ।
यो ताल रातो रङको छ र निकै विषालु पनि मानिन्छ । त्यहाँ सुरक्षाकर्मीले सुटकेशमा हालेर फालिएका थप शव पनि फेला पारेको थियो । अनुसन्धानका क्रममा प्रहरीले टिबुरकियोको हत्याको अभियोगमा एक जना व्यक्तिलाई पक्राउ गरेको थियो । त्यसपछि सो व्यक्तिले गएको तीन वर्षमा गरेका हत्याका घटनाको कबोल गरेको हो ।
उसले अन्य शव फालिएका स्थानको पनि जानकारी दिएको थियो । सो घटना जानकारीमा आएपछि साइप्रसका राष्ट्रपतिले निर्दोष विदेशी महिला र केटाकेटीको लज्जाजनक हिसाबले त्यसरी हत्या भएको सुनेर आफू स्तब्ध भएको जनाएका थिए ।
अधिकारीहरुले अहिले भेट्न बाँकी रहेका महिलाहरुको खोजी गरिरहेका छन् । (बीबीसीमा आधारित) बाह्रखरीबाट
तपाइँको प्रतिक्रिया