९ खेलाडीमा सिमित टोटेनह्याम पराजित

बैशाख २२ – टोटेनह्याम हट्सपरले २ वटा रातो कार्ड पाएको खेलमा बर्नमाउथ बिजयी भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राती सम्पन्न खेलमा बर्नमाउथले टोटेनह्यामलाई १-० ले पराजित गर्यो ।
खेलमा टोटेनह्याम २ रातो कार्ड खाँदै ९ खेलाडीमा सिमित भएको थियो । खेलको ४३औं मिनेटमा ह्युङ मिन सन र ४८औं मिनेटमा जुवान फोयथ सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि टोटेनह्याम ९ खेलाडीमा सिमित भएको थियो । ९ खेलाडीमा सिमित भए लगत्तै टोटेनह्याम समस्यामा परेको थियो ।
बर्नमाउथलाई ९ खेलाडीमा सिमित टोटेनह्यामलाई जित्न सहज भने भएन । उसलाई खेलमा गोल गर्नका लागि अतिरिक्त समय सम्म कुर्नु परेको थियो । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथलाई जिताउन अतिरिक्त समयको पहिलो मिनेटमा नाथन एकेले गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।


जित पछी बर्नमाउथको ३७ खेलबाट ४५ अंक भएको छ । बर्नमाउथ तालिकाको १४ औं स्थानमा रहेको छ । उता हारले टोटेनह्यामको तेस्रो स्थानमा रहदै लिगको अन्त्य गर्ने लक्ष्यमा धक्का लागेको छ । हाल अंक तालिकाको तेस्रो स्थानमा रहेको टोटेनह्यामको ३७ खेलबाट ७० अंक रहेको छ । १ खेल कम खेलेको चेल्सी ६८ अंकमा साथ चौथो तथा आर्सनल ६६ अंकका साथ पाँचौ स्थानमा रहेका छन् ।गए राती नै सम्पन्न अर्को खेलमा वेस्ट ह्यामले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया