बेंगलोरको सानत्वना जित
बैशाख २२ – इन्डियन प्रिमियर लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले जित हात पारेको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई पराजित गरेको हो । यो सँगै यस अघी नै आइपिएलबाट बाहिरिएको बेंगलोरले सुखद अन्त्य गरेको छ ।
हैदराबादले दिएको १७६ रनको लक्ष्य घरेलु टोलीले ४ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्यो । खराब शुरुवात गरे पनि बेंगलोरका मध्यक्रमका ब्याट्सम्यानहरुले टोलीको इनिङ उकासे । बेंगलोरले स्कोर बोर्डमा १ रन हुँदा नै ओपनर अक्षर पटेललाई गुमाएको थियो । अक्षर खाता नै नखोली पेभिलियन फर्किएका थिए । बेंगलोरको इनिङ गुरकीरात सिंह र शिम्रोन हेटमेयरले उकासे । ४७ बल खेलेका हेटमेयरले ७५ रन बनाए । उनले ४ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै गुरकीरात सिंहले ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६५ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन । हैदराबादका खलील अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ र रशिद खानले १ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १७५ रन बनाएको थियो । हैदराबादका केन विलियम्सनले कप्तानी इनिङ खेले । ४३ बल खेलेका विलियम्सनले बिष्फोटक ब्याटिङ गर्दै ७० रन बनाए । उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै मार्टिन गुप्टिल ३०, विजय शंकर २७ तथा रिद्दिमान शाहले २० रन बनाए । बेंगलोरका वाशिन्टन सुन्दरले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका वाशिन्टनले २४ रन खर्चिएर महत्वपूर्ण ३ विकेट हात पारे । यस्तै नव्दीप सैनीले २ तथा युज्भेन्द्र चाहल र कुल्वान्त खेजरोलियाले समान १ विकेट लिए ।
यो सँगै बेंगलोरले आइपिएलमा सन्त्वना जित हात पारेको छ । बेंगलोर यस अघी नै आइपिएलबाट बाहिरी सकेको थियो । उता हार पछी हैदराबादको प्ले अफ कठिन बनेको छ । उसलाई प्ले अफ पुग्न अन्य टोलीको नतिजामा भर पर्नु पर्ने भएको छ । आईतबार मुम्बईसँग कोलकता फराकिलो अन्तरले पराजित भए नेट रन रेटमा हैदरावाद र कोलकता मध्य एक टोली प्ले अफ पुग्ने छ । कोलकता विजयी भए हैदरावाद आइपिएलबाट बाहिरिनेछ ।एजेन्सी
तपाइँको प्रतिक्रिया