बैशाख२१,काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने निश्चित भएको छ।
लामो वर्तापछि दुई पार्टी एक हुने सहमति जुटेको हो । डा. भट्टराई र यादवबीच आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । एकताको घोषणा भने सोमबार हुने बताइएको छ ।
यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।
यादवले संविधान संशोधनसहितका माग पूरा गर्न सरकारमा गएको बताउँर्दै आएका छन् । अब पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् ।
यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर, नेतृत्वमा सहमति नहुँदा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिएको थियो ।बाह्रखरीबाट