भरतपुरमा आजदेखि विद्युत नियमित आपुर्ती

चितवन, बैशाख २० – भरतपुरमा आज (शुक्रवार) देखि विद्युत नियमित हुने भएको छ। एकहप्तादेखि भरतपुरमा जारी लोडसेडिङ अन्त्य भएको छ । एक हप्तादेखि ट्रान्सफर्मरको क्षमता बिस्तारका लागि पटक–पटक विद्युत कटौती हुँदै आएको थियो । नेपाल बिद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ट्रान्सफर्मरको क्षमता बिस्तारको काम सकिएकाले विद्युत नियमित हुने जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडमा रहेको सबस्टेशनमा रहेको १५ एमभिएको ट्रान्सफर्मरले गर्मी समयमा बढी बिद्युत खपत हुँदा लोड नधानेपछि क्षमता बृद्धि गरी ३० एमभिएको ट्रान्सफर्मर परिवर्तन गरिएको हो ।ट्रान्सफर्मर राख्ने काम सकिएको र विहिवार आधा क्षमताबाट संचालन भइसकेको नेपाल विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए ।
प्राबिधिक रुपमा कुनै समस्या नआए आजबाट भरतपुरको विद्युत नियमित हुने महतोले बताए। गर्मी समयमा १५ एमभिएको ट्रान्सफर्मरको क्षमताले लोड नधान्दा भरतपुर क्षेत्रमा लाइन काट्नुपर्ने समस्या थियो । ट्रान्सफर्मरको क्षमता बिस्तारसँगै यो समस्या अन्त्य भएको छ । भोजाडको सबस्टेशनबाट भरतपुर र नारायणगढको बजार क्षेत्रमा विद्युत आपूर्ति हुँदै आइरहेको छ ।


तपाइँको प्रतिक्रिया