आकाशमै योजना बुन्दै बालकृष्ण

सूर्यप्रसाद अधिकारी,बैशाख १९,चितवन ः हरेक वर्ष शिवरात्री आउनुअघि मेघौली विमानस्थलमा नेपाली सेनाको प्याराजम्पिङ हुने गथ्र्यो । विमान पनि दैनिकजसो नै आउँथे त्यतिबेला । पाँच, छ वर्षे उनलाई यी दुबैले प्रभाव नपार्ने कुरै भएन ।
त्यो बालापनको समय, जे गरे पनि रमाइलो । त्यही समयदेखि कहिले छाताबाट, कहिले प्लाष्टिकको प्यारासुट बनाएर कान्लाबाट हाम फाल्ने गरेको सम्झना उनमा ताजै छ । उनी एकोहोरो भएर माथि आकाशमा हेरिरहन्थे, यसरी नै आफू उड्न पाए हुन्थ्यो । अनि कल्पना गर्थे, म पनि सेनामा भर्ती भएको भए यसै गर्ने अवसर मिल्थ्यो । आखिर उनले बाल्यकालमा देखेको सपना यतिखेर साकार भइसकेको छ । उनी अहिले प्याराग्लाडिङ उडाउने मात्र होइन अहिले अरुलाई पोखरामा प्याराग्लाडिङ गराउने पेशामा समेत स्थापित भएका छन् । यी हुन चितवन मेघौलीका बालकृष्ण बसेल ।
प्याराग्लाइडिङको डोरी, लट्ठासंँग उनले खेलेको पनि १४ बर्ष भइसकेको छ । हालसम्म उनको दिनचर्या कत्ति फेरिएको छैन, झन् व्यस्तता बढेको छ । उनीसहित ५ जना युवाको संयुक्त लगानीमा र टीम ५ प्याराग्लाइडिङ कम्पनीमार्फत पर्यटकलाई सेवा दिइरहेका छन् ३८ वर्षीय बसेलले ।
बिहानदेखि बेलुकासम्म उनी पोखराको सराङकोटमै भेटिन्छन् । तर यहांँसम्म आइपुग्न भने उनले निकै पापड बेलेका छन् । मध्यम परिवार, ५ जना दाजुभाई, एक जना बहिनी, बुबा सरकारी शिक्षक । बुबाको सपना त उनी सरकारी शिक्षक भएर सेवा गरोस् भन्ने थियो ।
एसएलसी पास गरेपछि भने उच्च शिक्षा पढ्नको लागि पोखरा नै गन्तव्य भयो उनको । ठूलो दाइ र माइलो दाइ पहिलेदेखि नै पर्यटन व्यवसायी थिए पोखरामा । उनको देव हेरिटेज भन्ने ट्राभल थियो । दाइले बोलाएपछि नजाने कुरै भएन । पढ्न पनि पाउने, फुर्सदमा दाइलाई पनि सघाउने ।
२०५४ सालतिर पोखराको पृथ्वी नारायण क्याम्पसबाट उनले प्रमाणपत्रसम्मको अध्ययन गरे । व्यवस्थापन पढेका उनले यसलाई नै पेशा बनाएर हिँड्छु भन्ने नसोच्ने कुरै भएन । कि राम्रो अफिसको लेखापाल, कि त बैंकको कर्मचारी बन्ने, यो नै उनको चाहना थियो ।
त्यतिबेला व्यावसायिक प्याराग्लाडिङ पोखरामा नभए पनि विदेशीहरुले आफै ल्याएर उडेको उनले नदेखेका पनि होइनन् । तर त्यसबेला नेपालमा यसको अनुमति कसैले पाएकै थिएन । आफ्नो बाबु, आमा, दाजुहरुले पनि उनले अझै पढुन् भन्ने आशा राख्थे । पढाइमा पनि उनी अब्बल थिए । उच्चशिक्षा पढ्न काठमाडौं नै जाने अड्डी कसेपछि उनी स्नातक पढ्न काठमाडौं हानिए अनि भर्ना भए शंकरदेव क्याम्पस ।
स्नातक तह सरासर पास गरेका उनले त्यसपछि भने काम खोज्दै पढ्ने सोच राखे । ‘कति घरबाट ल्याएर पढ्नु ? काम गर्दै पढ्दा घरलाई पनि भार नपर्ने । काम खोज्ने क्रममा कैयौं ठाउंँ धाएँ । भनेजस्तो काम नै पाइएन, खाली मार्केटिङको काम । मन नलागी नलागी मैले केही महिना त गरें तर निरन्तरता दिने जांँगरै चलेन’ उनले भने ।
उनी फर्के पोखरातिरै । माओवादीको द्वन्द्वकाल सबै व्यवसाय चौपट भइरहेका बेला उनका दाजुको ट्राभल एजेन्सीलाई पनि असर नपर्ने कुरै भएन । पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ उडानको लागि त्यहांँ सरोकारवालाले विषय नउठाएका पनि होइनन् त्यतिबेला । तर यसको लागि विज्ञ, पाइलट नेपालमा कोही पनि थिएनन् । कहिलेकांँही आउने पर्यटकले पोखरामा यस बिषयमा औपचारिक ज्ञान त दिन्थे तर यसले मात्र सफल हुने भएन ।
विस्तृत अध्ययनपछि विदेशीले त्यहांँ कक्षा लिएर नै यस बिषयमा पढाउन थाले । ‘के खोच्छस् काना आंँखो । मैले प्याराग्लाइडिङ कक्षामा भर्ना भइहालें । यसमा सैद्धान्तिक ज्ञान भन्दा पनि प्राविधिक ज्ञान र अभ्यास नै बढी गर्नुपथ्र्यो । करिब ३ बर्षको अभ्यासपछि मात्र म प्याराग्लाइडिङ पाइलट बनें’ उनले भने ।
यसको लाइसेन्स पाउन ३ बर्ष त अभ्यास गर्नै पर्ने नियम छ । हाल उनले प्याराग्लाइडिङ उडाएको पनि १४ बर्ष भइसकेको छ । यो पेशाको बारेमा उनको अनुभव छ, ‘यो जोखिम, साहस र आनन्दको पेशा हो । जोखिम त कहांँ छैन ? हिँड्दा पनि ठेस लाग्छ ।’ नाम, दाम सबै हुने यो पेशाबाहेक अन्य पेशा उनी कल्पना गर्न पनि सक्दैनन् ।
उनी भन्छन्, ‘मलाई आकाशमै उड्न आनन्द लाग्छ ।’ आकाश र प्याराग्लाइडिसंँगको नाताबारे बारे उनी सम्झन्छन् । अंग्रेजी सरर बोल्ने उनीसँग जापानी, फे्रन्च, चाइनीज लगायत अन्य भाषाको पनि सामान्य ज्ञान छ । उनी भन्छन् ‘हाम्रो उद्देश्य नै पर्यटकलाई खुशी र सन्तुष्ट पार्नु हो ।’
हाल उनले प्याराग्लाडिङ स्कुलमा यस सम्बन्धी अध्यापन पनि गर्ने गर्दछन् । साथै कम्पनीको दायरालाई पनि बढाएका छन् । ‘शुरुमा ५० लाख हाराहारीमा शुरु गरेका थियौं, हाल डेढ करोडभन्दा बढी लगानी भइसकेको छ’ उनी भन्छन् । ‘मैले झण्डै सय जनाभन्दा बढीलाई पढाइसकेँ, सबै यही पेशामा छन, यो देख्दा खुशी लाग्छ’ उनले भने ।
हाल उनी पोखरामा घर किनेर बसे पनि चितवनप्रतिको माया कहिल्यै बिर्संदैनन् । उनी पटक पटक चितवन आउंँछन् । प्याराग्लाडिङको सम्भावना भएको ठाउंँ हेरेर जान्छन् । उनी चितवनको शक्तिखोर, पिप्लेमा प्याराग्लाडिङ उडाउने उपयुक्त ठाउंँ र मौसम भएको बताउंँछन् । यसैको लागि चितवन आएको उनले सुनाए ।
‘यसबारे विस्तृत अध्ययन गरेर सम्बन्धित निकायलाई प्रस्ताव पेश गर्छु । भविष्यमा स्थानीय निकाय, सिभिल एभियसनले साथ दिए शक्तिखोर नजिकका ठाउंँहरुमा प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना छ’ उनले थपे ।
तपाइँको प्रतिक्रिया