श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न सरकार प्रतिबद्द छ – प्रचण्ड

काठमाडौं नेकपाका अध्यक्ष प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न नेकपा र त्यसले नेतृत्व गरेको वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।१३० औं विश्व मजदुर दिवसको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकारले जोड गरिरहेको उल्लेख गरेका छन् ।
‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिस्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ’, प्रचण्डले जारी शुभकामना सन्देशमा लेखेका छन् ।देशको समृद्धिसँगै कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु अहिलेको आवश्यकता भएको प्रचण्डको मत छ । यसका लागि उनले नेपाली श्रमिक वर्ग एकतावद्ध भएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गर्दै हरेक वर्ष विश्वभरका श्रमिकहरुले दिवस मनाउने गरेका छन् ।


तपाइँको प्रतिक्रिया