पञ्जाबको फराकिलो हार

एटुजेड समाचार

 बैशाख १७ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबविरुद्ध सहज जित निकालेको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गर्‍यो ।राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २१३ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रनमै समेटियो ।

पञ्जाबका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाए पनि काम लागेन । उनले ५६ बलमा ५ छक्का र चार चौका प्रहार गरेका थिए । त्यस्तै, मयंक अग्रवालले २७ रन बनाए । २.१ ओभरमा विष्फोटक ब्याट्सम्यान तथा युनिभर्सल बोसको रुपमा परिचित क्रिस गेल ४ रनमा आउट हुदा पञ्जाब दबावमा आएको थियो ।

पञ्जाबमाथि जित हात पार्ने क्रममा राशिद खान बल्ल पहिलो पटक जारी आईपीएलमा चम्किएका छन् । उनले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिएर तीन विकेट लिए । खालिल अहमदले पनि तीन विकेट लिए तर उनले ४० रन खर्चिए । त्यस्तै, दुई विकेट भने सन्दीप शर्माको नाममा रहृयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ७ चौका र दुई छक्काको मद्दतमा ८१ रन बनाए । त्यस्तै, मनिस पाण्डेले ३६ रन बनाए ।जितसँगै हैदरावादको प्लेअफमा पुग्ने सम्भावना बढेको छ । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू