पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट….

काठमाडौँ, वैशाख १२ – विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै अन्तिम क्षणको अनुभूत गर्दै थिए । कतै अलापविलाप, कतै कोही पुरिएका आफन्त निकाल्न कसरत गर्दै थिए ।
सरकार, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उद्धार सामग्रीसहित भूकम्पले क्षति पु¥याएका क्षेत्रमा पुगेर उद्धारमा खटिएका थिए तर अहिले त्यो बेलाको चित्कार भुल्दै देश पुनःनिर्माणको महाअभियानमा जुटेको छ । सरकार पनि भूकम्पबाट लागेको घाउमा मलम लगाउने प्रयासमा जुटिरहेको छ ।
पुरातात्विक महत्वका संरचना अहिले उठ्ने क्रममा छन् । यस्तैमध्येको एक संरचना काठमाडँको त्रिपुरेश्वरमा रहेको ललितत्रिपुरासुन्दरी मन्दिर पनि हो । राजा रणबहादुर शाहकी पाँचौँ श्रीमती ललितत्रिपुरासुन्दरीले उहाँको स्मृतिमा बनाएको मन्दिर भूकम्पले क्षतविक्षत बनाएको थियो ।
पुनःनिर्माणका क्रममा रहेको उक्त मौलिक र पुरातात्विक क्षेत्रको सम्पदा क्षेत्रमा शिल्पकारहरु काठमा विभिन्न आकृतिका बुट्टा कुँद्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पुग्नुभयो । बिहान ११ः१० बजे मन्दिर प्रवेश गर्नुभएका उहाँले २५ मिनेट बिताएर त्यहाँको पुनःनिर्माणको अवस्थाबारे जानकारी लिनुभयो ।
उहाँलाई काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ मकाजु र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको अवस्थाबारे जानकारी गराउनुभयो । त्यहाँ कोही मजदूर आरा चलाउँदै थिए, कोही काठमा बुट्टा कुँद्दै थिए भने कोही भित्ता उठाउँदै थिए ।
अधिकांश क्षेत्रमा आधाआधी काम भइसकेको देखिन्थ्यो । पुनःनिर्माणले गति लिएकामा प्रधानमन्त्री ओलीको मुहारमा चमक देखिन्थ्यो । कलाकार तथा मजदूरको कामका गतिविधिबारे चाखपूर्वक अवलोकन गर्नुभएका प्रधानमन्त्री ओलीलाई आज नौमती र धिमेबाजा बजाएर स्वागत गरिएको थियो ।
आजै प्रधानमन्त्री ओलीले काठमाडौँको भूगोलपार्क र वसन्तपुर क्षेत्रको पुनःनिर्माणको अवस्थाबारेमा समेत स्थलगत निरीक्षण गर्नुभएको थियो । त्यहाँको पुनःनिर्माण परियोजना निर्देशक लोचन रिजालले भन्नुभयो, “प्रधानमन्त्रीले आज अवस्थाबारे निरीक्षण गर्नुभयो, उहाँ अर्को पटक आउँदा यो पूरा गर्ने हाम्रो प्रतिबद्धता छ ।”
पुरातात्विक सम्पदालाई विश्वविद्यालयमार्फत अनुसन्धान र प्रयोगमा ल्याई शिक्षा दिने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले पुनःनिर्माणको अगुवाइ गरिरहेको छ । “मुख्यतः कला सङ्गीतको दिगो विकास गर्ने नै हो, परम्परागत सीप र ज्ञानलाई प्रयोगमा नल्याउने हो भने यसको महत्व हुँदैनन्, समुदायलाई क्याम्पसमा जोड्न मात्रै खोजेको हो”, रिजालले थप्नुभयो ।
यहाँको क्षेत्र भूकम्प अगाडि दुरुपयोग भएको थियो । अहिले परम्परालाई नमासिने गरी सुन्दर उद्यानसहितको पुनःनिर्माणको काम जारी छ । अहिलेसम्म ३० प्रतिशत निर्माण भएको जनाइएको छ । पुनःनिर्माणमा बाजा बनाएर कमाएको रु १९ लाख तथा विश्वविद्यालयको रु दुई करोड छ भने थाई नागरिकबाट सङ्कलन भएको रु १७ करोड नेपाल सरकारमार्फत आएको छ ।
“सरकारलाई ठूलो धन्यवाद किन दिनुपर्छ भने ज्ञान र यहाँको मूर्त संरचनालाई जोडेर नयाँ शिक्षा र सिकाइ दिन खोजिएको छ”, रिजालले भन्नुभयो । झण्डै १५ रोपनी जग्गामा फैलिएको यहाँ नौ रोपनी क्षेत्र शिवको मन्दिर छ । आकर्षक उद्यानसहितको पुनःनिर्माणको काम पाटन दरबार स्क्वायरको डिजाइन गर्ने कलाकार डा रोहित रञ्जितकारको डिजाइनमा काम भइरहेको छ । प्राधिकरणका अनुसार ७७३ सांस्कृतिक सम्पदामध्ये २२४ पुनःनिर्माणको क्रममा रहेको र २१२ पुरानै अवस्थामा फर्किसकेको छ । (रासस)
तपाइँको प्रतिक्रिया