चितवनमा पहिलो पटक अन्तरराष्ट्रिय स्तरको कराते प्रतियोगिता हुँदै
चितवन, बैशाख १२ – चितवनमा पहिलो पटक अन्तरराष्ट्रिय स्तरको कराते प्रतियोगिता हुने भएको छ । जापान गोजु-रियो कराते डो केन्वाकाई नेपाल संघ चितवन शाखाको आयोजनामा तेस्रो इन्डो नेपाल कराते प्रतियोगिता हुन लागेको संघका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिए ।
प्रतियोगिता यही बैशाख १९ गते देखी २१ गते सम्म भरतपुर १५ मंगलपुरमा हुने आचार्यले बताए । प्रतियोगितामा नेपाल र भारतका गरी करिब ४ सय जना खेलाडीहरुले सहभागीता जनाउनेछन् । प्रतियोगितामा नेपालका बिभिन्न जिल्लाका ३५० र भारतबाट ५० गरी ४ सय जना खेलाडीहरुले बिभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । चितवनबाट ६० जना खेलाडीहरुले सहभागीता जनाउनेछन् ।
सहभागी खेलाडीहरुले उमेर समुह, तौल समुह र खुल्लामा प्रतिस्पर्धा गर्ने आचार्यले बताए । ६ देखी १३ बर्षका खेलाडीहरुले उमेर समुहमा प्रतिस्पर्धा गर्नेछन् भने १३ देखी १९ बर्षकाले तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । १९ बर्ष माथिकाले भने खुल्ला तर्फ प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।प्रतियोगिताको तयारी तिब्र गतीमा भईरहेको आचार्यले जानकारी दिए ।
प्रतियोगितामा जापान गोजु-रियो कराते डो केन्वाकाई नेपालका केन्द्रिय प्रमुख प्रशिक्षक तथा एसिया कोर्डिनेटर ब्ल्याक बेल्ट सेभेन्थ डन विशन सिंह खड्का र केन्द्रिय प्रमुख अध्यक्ष बिदुर कडेलको बिशेष सहभागीता रहने संघका अध्यक्ष उमाकान्त आचार्यले जानकारी दिए । उनले यस प्रतियोगिताले कराते खेलको बिकासमा साकारात्मक सन्देश जाने विश्वास ब्यक्त गरे ।प्रतियोगिता सम्पन्न गर्नका लागि १७ लाख ८८ हजार खर्च लाग्ने अनुमान गरिएको आचार्यले बताए । प्रतियोगिताका लागि बिभिन्न संस्था तथा ब्यक्तीहरुबाट सहयोग प्राप्त भएको उनले बताए ।
चितवनमा कराते खेल पहिले देखी नै खेल्दै आएको भएता पनि यस किसिमको प्रतियोगिता पहिलो पटक हुन लागेको मुख्य प्रशिक्षक राजु पौडेलले बताए । उनले यस संघबाट प्रशिक्षण लिएका खेलाडीहरुले छोटो समयमा पनि धेरै उपलब्धी हासिल गरेको कारण प्रतियोगिता आयोजना गर्न हौसला मिलेको उनले बताए ।
चितवनमा करातेले ठुलो सम्भावना बोकेको भएता पनि ठुला प्रतियोगिता आयोजना नहुँदा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन नसकेको पौडेलको भनाई छ । उनले यस किसिमको प्रतियोगिताले खेल र खेलाडीको बिकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । गत जनवरीमा भारतको गोवामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय बिच कम्ब्याट गेम्स २०१९ मा कराते तर्फ जापान गोजु-रियो कराते डो केन्वाकाई नेपाल संघ चितवन शाखा प्रथम भएको थियो ।
यसै बिच प्रतियोगिताकै अवसर पारेर आयोजक जापान गोजु-रियो कराते डो केन्वाकाई नेपाल संघ चितवनले करातेका नेपालका मुख्य प्रशिक्षक गगन लामालाई सम्मान गर्ने भएको छ । गगन लामाले नेपालको कराते खेलमा पुराएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया