विदेशीले माग गर्ने गरी जनशक्ती उत्पादन गर्छौ – प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, बैशाख ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका छन् ।एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्छौ उनले भने ।प्रधानमन्त्री ओलीले ‘डिजिटल नेपाल, शिक्षित नेपाली र विद्वान् बस्ने नेपाल’ बनाइने बताउँदै भने, ‘खनिज, पर्याप्त स्रोत भएको उर्वर हाम्रो मुलुकका जनता अनपढ र गरीबको कल्पना गर्न पनि सक्दैनौँ, यस विषयलाई अब केही वर्षमै इतिहास बनाउनेछौँ ।’उनले भने, ‘शिक्षकमा गुणस्तर भए विद्यार्थी पनि गुणस्तरीय उत्पादित हुन्छ, सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो आवश्यकता भइसक्यो ।’
प्रधानमन्त्री ओलीले निजी विद्यालयले गुणस्तरका नाममा चर्को शुल्क मात्रै लिएको बताए । ‘चर्को शुल्क भएपछि शिक्षा राम्रो भन्ने आम मान्यता गलत छ’, उनले भने, ‘अब सामुदायिक शिक्षामा परिवर्तन जरुरी छ, यसका लागि सङ्घीय सरकारले यथाशक्य छिटो ध्यान दिनेछ ।’उनले प्रविधिको विकासँगै विकृत मानसिकतामा बदल्न सक्ने खतरा बढेकाले बालबालिकालाई मोबाइलबाट टाढा राख्न अभिभावकसँग अनुरोध गरे ।


तपाइँको प्रतिक्रिया