गास मागेको भरमा, बास सडकको घरमा

मनिका विश्वकर्मा, चितवन, बैशाख ११ – गोरखा घर भएका १२ वर्षीय समुन्द्र राई सानै देखी सडक पेटीमा जीवन बिताईरहेका छन् । आमा संसार छोडेपछी समुन्द्र घर छोड्न वाध्य भए । अहिले सडक पेटी नै उनको घर बनेको छ । आमाको निधन पछी बाबाले कान्छी श्रीमती ल्याए । कान्छी आमाले २ छाक खान पनि नदिने, लगाउनका लागि कपडा पनि नदिने बरु उल्टै कुटपिट गरी घरबाट निकाले पछी वाध्य भएर सडकमा आउने परेको समुन्द्रको पिडा सुनाउछन् ।
आफ्नी आमा हुँदा सम्म त पढ्न पाए तर कान्छी आमा आए पछी उनले एक बाटै बिद्यालय जान छोडे ।पहिलो पटक सडकमा आउँदा के खाने ? कहाँ सुत्ने ? के गर्ने ? उनलाई केही थाहा थिएन । बिस्तारै आफु जस्तै सडक मै जीवन बिताईरहेका अन्य साथीहरु हेरेर उनिहरु जस्तै खानेकुरा केहि नपाएर फोहोरको थुप्रोमा खोज्दै हिड्न शुरु गरे ।
पेट पाल्न माग्न पनि शुरु गरे । तर माग्ने भनेको जस्तो सजिलो पनि भएन । एक छाक खानका लागि माग्दै हिड्दा कहिले गाली खान पर्छ त कहिले कुटाई ।’दिनभरी अरुको गाली र कुटाई सहदै जसो तसो ५०-६० रुपैया जम्मा हुन्छ । त्यतीले मात्र पुग्दैन अनी प्लाष्टिकको भाडाहरु जम्मा गरी कबाडीमा बेचेर कमाउन्छौ, उनले भने त्यसैले मुस्किलले बिहान बेलुकाको छाक टार्न पर्छ ।’ ‘भोक टार्नकै लागि डेन्टराइट सुघेर लठ्ठ हुन्छौ यसले तनाब कम हुन्छ, भोक हराउछ अनी र आनन्द आउछ – उनी भन्छन् ।’खान जस्तै सुत्न पनि समस्या नै समस्या छ । सुत्ने ठाँउ नपाएर बाटोमा बस्नु परेको छ, बाटो नै सुत्न परेको छ । “ बिहान पुरा निन्द्रा सुत्न पाईन्न, पसलमा सटर खोल्ने मान्छेहरुले लखेट्छन् – उनी भन्छन् ।
यस्तै कथा अनी पिडा छ सर्लाही जिल्लाकी १३ वर्षीय सानुमायाको पनि । सानुमाया सडक आउनुको पछाडि पनि आफ्नै छुट्टै कारण छ । ‘ममीले अर्कै विवाह गरेको र बाबा बिरामी भएर संसारबाट बिदा पछी आफुलाई कसैले पनि वास्ता नगरेको कारण सानुमाया सडकमा आइपुगेकी हुन् ।
सानुमायाको सडकको जीवन पनि अरुको जस्तै छ । कहिले मुस्किलले एक छाक खान पाईन्छ त कहिले भोको पेट नै सुत्नु पर्छ – सानु माया भन्छिन् । चिसो पेटीमा रात बिताउन पर्दा धेरै पटक बिरामी भएको सानुमाया बताउछिन् । बिरामी हुँदा पनि औषधी खान नपाउदाको पिडा त झनै सही नसक्नुको छ । त्यही माथि केटी भएकै कारण केटाहरुले जिस्काउने र कतीपयले जबरजस्ती हातपात नै गर्ने उनी बताउछिन् । प्रतिकार गरे गाली गर्ने र हातपात नै गर्ने गरेको सानुमाया बताउछिन् ।
‘कहिले काही कोही मानिसहरु आउछन् र तिमीलाई लगेर पढाउछौ भन्छन् तर मलाई जान मन लाग्दैन किनकी यही सडक नै मलाई प्यारो लाग्छ – सानुमाया भन्छिन् ।’समुन्द्र र सानुमाया त केबल प्रतिनिधि पात्र मात्र हुन् । बिभिन्न कारणले सडकमा जीवन बिताउन वाध्य हजारौ बालबालिकाहरुको कथा यस्तै छ । चितवनको नारायणगढ क्षेत्रमा सडक बालबालिकाको अवस्था यस्तै छ ।
नारायणगढको लायन्स चोक , आलु मन्डी, सहिद चोक, पुलचोक देखी नारायणी नदी किनार क्षेत्रमा यस्ता बालबलिकाहरु बोरामा फोहोर टिप्दै गरेको, फोहोरको थुप्रोमा खाने कुरा खोजिरहेको, पैसा माग्दै गरेको र डेन्टराईट सुघदै हिडेको अवस्थामा भेटिएको छन् ।
नारायणगढका स्थानिय बासीहरुको अनुसार ति बालबालिकाहरुलाई कतिपयमा गलत काममा लागि प्रयोग गर्ने गरेका छन् । उनिहरु पनि एक छाक खान पाउने आशमा जे गर्न पनि तयार हुने गर्दछन् । यही क्रममा कहिले काही उनिहरु बिच एक आपसमा झगडा नै हुने गरेको स्थानियको भनाई रहेको छ ।
भरतपुर महानगरपालिका ३ नारायणगढका वडाध्यक्ष चन्द्रमित्र पण्डित सडक बालबालिकाहरुलाई व्यवस्थापन गर्न महानगरपालिका , जिल्ला प्रहरी कार्यलय , विभिन्न संघसस्था आदिले काम गरिरहेको बताउछन् । सडक बालबालिका सडक आउने बातावरण अन्त्य नभए सम्म यो समस्या समाधान नहुने उनी बताउछन् । आमा बुवाको माया नपाउदा साथी भाईको लहै लहैमा लागेर समेत उनिहरु सडकमा आइपुग्ने गरेको पण्डितको भनाई छ ।
‘हाम्रो घर’ संस्थाका अध्यक्ष रामहरि श्रेष्ठले संस्थामा २८ जना बालबालिका आश्रित रहेको बताउछन् ।सबै सडक बालबालिकालाई टपक्क टिपेर ल्याउन मिल्दैन, सबै राख्न पनि गाह्रो हुन्छ, उनी भन्छन् सबैले ल्याएर छोड्ने काम मात्र गर्दछन्, आर्थिक अभावको कारण उनिहरुलाई पालन पोषण गर्नै गार्ह्रो हुन्छ ।
आर्थिक सहयोग भए अरु बालबालिकालाई पनि राख्न सक्ने उनको भनाई रहेको छ । यसको लागि महानगरले पनि पहल गर्नुपर्ने श्रेष्ठ बताउछन् । ‘बालबालिकाको लागि काम गर्ने नाममा धेरै संघ संस्था खुले पनि बालबालिकाको लागि काम गरे नगरेको, कुन संघ संस्थाले के कस्तो काम गरिरहेको छ भनेर महानगरले अनुगमन पनि गर्नु पर्छ – उनले भने ।’
तपाइँको प्रतिक्रिया