विदेशमा सिकेको सीप नेपालमा कार्यान्वयन

बैशाख ११,चितवन ः भरतपुर महानगरपालिका वडा नम्बर ७ का २५ वर्षीय प्रमिश तामाङ र भरतपुर १२ का २६ वर्षीय विजय गुरुङले संयुक्त रुपमा व्यवसाय सुरु गरेका छन् । उनीहरु दुवै जना वैदेशिक रोजगारीका सिलसिलामा दुबई र कतार पुगेर आठ महिनाअघि नेपाल फर्केका हुन् । कलेज पढ्दादेखिका मिल्ने साथी दुवैले सल्लाह गरेर भरतपुर महानगरपालिका वडा नम्बर १० ईन्द्रेणीचोकमा द ले व्लु क्याफे सञ्चालनमा ल्याएका छन् ।
उनीहरुको विदेशमा कमाई राम्रै थियो । नेपाल फर्कनुको कारण बताउँदै तामाङ भन्छन, ‘हामीलाई बिदेशीले हेर्ने र गर्ने दृष्टिकोणमा फरक पायौं । त्यसपछि दुवै जना एक वर्ष ६ मिहनाको विदेश बसाईपछि नेपाल आएका हौं ।’ नेपालीहरुलाई विदेशमा गर्ने व्यवहार हेर्दा आत्मसम्मानमा चोट पुगेको महसुस भएपछि नेपाल फर्किएर व्यवसाय गर्न लागेको तामाङ्ले बताउनु भयो ।
करिब २० लाखको लागतमा अहिले उनीहरुले क्याफे सञ्चालनमा ल्याएका छन् । अर्का सञ्चालक गुरुङ नेपालीले सीप नसिकी विदेश जाँदा पाउने दुःख देखेर आफूहरुले नेपाली युवा विदेशिन रोक्नका लागि यो व्यवसाय सुरु गरेको बताउँछन् । दुवैले विदेशमा होटलमै काम गरेर आएका हुन् । दुवैले होटल म्यानेजमेन्टमा व्याचलरसम्मको अध्ययन गरेका छन् ।
विद्यालय तहको अध्ययनकै क्रममा नेपालमा नै व्यवसाय गर्ने सोच बनाएका यी दुई युवाले आफूहरुको बिदेश बसाई सीपका लागि उपलव्धिमुलक भएपनि अन्य केही गर्न नसकेको बताउँछन् । आफूहरुले विदेशमा नेपालीले दुःख पाएको देखेको बताउँदै उनीहरुले नेपाली युवाहरु सकेसम्म स्वदेशमा नै काम गर्नु आवश्यक रहेको बताएका छन् ।
तपाइँको प्रतिक्रिया