बर्नेलीले चेल्सीलाई बराबरीमा रोक्यो

बैशाख १० – शुरुवाती २४ मिनेट भित्रै ४ गोल भएको खेलमा चेल्सीलाई बर्नेलीले बराबरीमा रोकेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राती सम्पन्न खेलमा चेल्सी र बर्नेली २-२ को बराबरीमा रोकिएका हुन् ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा बर्नेलीले शुरुवाती अग्रता बनाएको थियो । खेलको आठौ मिनेटमा नै जेफ हेन्ड्रिकले गोल गर्दै बर्नेलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर उसको अग्रता धेरै बेर टिक्न सकेन । खेलको १२ औं मिनेटमा एङ्गोलो कान्टेले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । उनले इडन हजार्डको पासमा गोल गरेका थिए ।
खेल बराबरीमा पुगेको २ मिनेट लगत्तै चेल्सीले अग्रता लियो । खेलको १४ औं मिनेटमा गोन्जालो हिगुआइनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पाहुना टोलीले २४ औं मिनेटमा बराबरी गर्यो । उसका लागि एस्ले बार्नेसले गोल गरे । बाँकी समयमा थप गोल हुन सकेन र खेल २-२ को बराबरीमा सकियो ।
बराबरी पछी चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको ३५ खेलबाट ६५ अंक भएको छ । उता बर्नेली भने समान खेलबाट ४० अंकका साथ १५ औं स्थानमा रहेको छ । अंक तालिकामा ३५ खेलबाट ८८ अंक बनाएको लिभरपुल तालिकाको शिर्ष स्थानमा रहदा १ खेल कम खेलेको म्यान्चेस्टर सिटी ८६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । ३४ खेलबाट ६७ अंक बनाएको टोटेनह्याम हट्स्पर भने तेस्रो स्थानमा रहेको छ ।
एजेन्सी
तपाइँको प्रतिक्रिया