पशुपति महायज्ञमा दान दिनेहरु बढ्दै, सोमबार एकैदिन १० लाख संकलन (फोटो फिचर) "अबसर नछुटाउन आयोजकको आग्रह "

काठमाडौँ, ९ वैशाख : धार्मिक पर्यटन विकासको लक्ष्य सहित चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति लगायत भौतिक संरचना निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा दान गर्नेहरु बढ्दै गएका छन् ।
आज मात्रै रु १० लाख भन्दा बढी दान प्राप्त भएको छ । महोत्सवस्थल सोमबार भरीभराउ भएको आयोजकले जनाएको छ । गएको शनिवारदेखि भने भक्तजन र सहयोगी दाताहरुको संख्या क्रमश बढ्दो क्रममा छ ।
अझै दुई दिन महायज्ञ हुने भएकाले दान गरी पुण्य प्राप्त गर्न र धार्मिक पर्यटन विकासको महाअभियानमा सरिक भई संस्थापक वा संस्थापक÷संरक्षण बन्ने अबसर नगुमाउन महायज्ञ मुल आयोजक समितिका सचिव युवकराज पराजुलीले सबैमा आग्रह गर्नुभयो ।
अरु बेला सहयोग दिँदा चन्दा स्वरुप जाने र पवित्र भूमिमा भएको महायज्ञमा आएर दान दिँदा देवतालाई अर्पण गर्ने हुँदा थप पुण्य मिल्ने भन्दै उहाँले चाहना हुँदाहुँदै आउन नभ्याउनुभएका पर्यटन व्यवसायी, समाजसेवी तथा धार्मिक व्यक्तित्वहरुलाई उहाँले अबसर नगुमाउन अनुरोध गर्नुभयो ।
अहिलेसम्म रु ४० लाखभन्दा बढी रकम संकलन भैसकेको र यहाँ करीब २० देखि २५ क्वीन्टल धातु संकलन भैसकेको भन्दै उहाँले आर्थिक संकलनसँगै धातु पनि उल्लेख्य संकलन भएको बताउनुभयो ।
महोत्सवमा दानवीरहरुको उल्लेख्य सहभागिताले अभियान समय मै सफल गर्न उत्साह जगाएको आयोजकले जनाएको छ । विभिन्न क्षेत्रबाट सहयोग गर्न इच्छा प्रकट भैरहेको र फोनबाट समेत सहयोगका् प्रतिबद्धता आएकाले बाँकी दुई दिनमा उहाँहरु आएर दान गर्ने विश्वास लिईएको सचिव पराजुलीले बताउनुभयो ।
यही वैशाख १ गतेबाट शुरु ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलन सहित तीन करोड बेलपत्र चढाउने र एक करोड वत्ती प्रज्ज्वलन गर्ने कार्यक्रमसमेत छ ।
वैशाख ११ गतेसम्म चल्ने महायज्ञमा रु एक लाख सहयोग गर्ने संस्थापक र रु ५ लाख सहयोग गर्ने व्यक्ति संस्थापक संरक्षण बन्ने छन् । अष्ट्रेलिया, अमेरिका, पोर्तुगल, फ्रान्स, वेलायत र जापानमा बस्ने नेपालीहरुले समेत सहयोग गर्ने आश्वासन दिएको सहसंयोजक ऋषिश्वर थपलियाले जानकारी दिनुभएको छ ।
चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्क सहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गरी धार्मिक पर्यटन प्रवद्र्धनका लागि आर्थिक तथा धातु सङ्कलनको उद्देश्यले महायज्ञ गरिएको हो ।
देवघाटमा शिवको मूर्तिसहित जमिनमुनी पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ । पर्यटन व्यवसायी केशव पाण्डेको नेतृत्वमा मुल आयोजक समिति निर्माण गरी यहाँ महायज्ञ सञ्चालन गरिएको छ । सङ्कल्पकर्ता पण्डित ईश्वरकृष्ण महाराजबाट कथा वाचन भैरहेको छ । कार्यक्रमको हरेक दिन न्यूज२४ बाट प्रत्यक्ष प्रशारण समेत भैरहेको छ ।
तपाइँको प्रतिक्रिया