प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने घिमिरे प्रहरी नियन्त्रणमा

रुपन्देही, वैशाख ९ – वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जितगढीमा कालो झण्डा देखाएका रुद्रप्रसाद घिमिरेमाथि प्रहरीले मुद्दा चलाएर कारवाही प्रकृया अघि बढाएको भन्दै नेपाली काँग्रेसले विरोध गरेको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएपछि उनको चर्चा समेत चुलिएको थियो । उक्त बिषय अहिले प्रदेशसभामा समेत प्रवेश गरेको छ ।
आज बसेको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य डिल्ली चौधरीले प्रजातन्त्रमा विरोध गर्नुलाई समान्य रुपमा लिनुपर्ने भन्दै उनलाई रिहाई गर्न माग गरे । उनले प्रधानमन्त्री कालो झन्डा देखाउनु अपराध नभएकोले प्रदेशमा गृहमन्त्रीको ध्यानआर्कषण गराएका थिए ।
यस्तै नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालालाई भैरहवामा कालो झन्डा देखाउँदा मुसुस्क हाँस्दै विरोध गर्न दिएको प्रसंग जोड्दै लोकतन्त्रमा विरोध गर्न पाउने भएकोले कालोझन्डा देखाउने घिमिरेलाई रिहा गर्नुपर्ने माग गरिन् ।यस्तै आज बिहान बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कालो झन्डा देखाउनु लोकतन्त्रमा कुनै ठुलो बिषय नभएको भन्दै घिमिरेलाई रिहा गर्न माग गरे ।
यसअघि नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले पनि मुद्धा फिर्ता लिन स्थानीय प्रशासनलाई आग्रह गरेको थियो ।उनीमाथि फौजदारी संहिता अन्तर्गत सार्वजनिक मुद्दा दर्ता गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिएका छन् । प्रधानमन्त्रीमाथि अभद्र व्यवहार गरेकाले आइन्दा यस्तो नहोस् भन्ने उद्देश्यले सार्वजनिक मुद्दा चलाइएको प्रहरीको दाबी छ ।अर्घाखाँची घर भएका घिमिरे केही वर्षदेखि बुटवल ११ मजुवामा बस्दै आएका छन् । घिमिरे गत संसदीय चुनावमा नेकपाका महासचिव विष्णु पौडेलले जितेको क्षेत्र रुपन्देही २ बाट स्वतन्त्र उम्मेदवार थिए । (राताेेपाटी)
तपाइँको प्रतिक्रिया