चितवनको उपरदाङ्गगढीमा राखियो सोलार प्यानल सहितको राष्ट्रिय झण्डा

चितवन, वैशाख ९ – उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवं ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङ्गगढी (किल्ला) मा बैशाख ०८ गते आल्मुनियम पोल, सोलार प्यानल सहितको राष्ट्रिय झण्डा गाडिएको छ ।
९.५ मिटर अग्लो ग्याभनाइज उक्त पोलमा दुईवटा २०० वाटको सोलार प्यानल, १००० एच, १२ भोल्डको ब्याट्री चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल सहित प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा जडान गरिएको हो ।यसअघि २०७५ पौष १४ गते चितवन उद्योगका अध्यक्ष भेषराज दुवाडीको नेतृत्व र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा उपरदाङ्गगढी (किल्ला) भित्र राष्ट्रिय झण्डाको झन्डोलोतन समेत गरिएको थियो ।
नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले ‘अग्लो ठाउँ सुरक्षित हुने’ भन्दै पृथ्वीनारायण शाहका नाति तथा उपरदाङ्गढी क्षेत्रका तत्कालीन प्रशासक शत्रुभञ्जन शाहले वि.सं १८५७ मा गढीको स्थापना गरेको जानकारहरू बताउँछन् ।१९६० सालसम्म सोही किल्लालाई चितवनको सदरमुकामका रूपमा पनि प्रयोग गरियो । चारैतिर भिरालो जमीन र बीचमा रहेको थुम्को गढीको विशेषता हो ।
यो गढी ६ सय ३९ वर्ग मिटर र समुद्री सतहबाट १ हजार २ सय ७५ मिटर उचाइमा रहेको छ । चौघेरामा रहेको ढुङ्गाले बनेको गढीको किल्ला प्रवेश गर्ने एक मात्र ढोका रहेको छ । यसमा लगाइएको ढुङ्गाको पर्खाल ६ मिटर अग्लो र ३ मिटर चौडा छ । किल्लाभित्र कोतघर, पानी जम्मा गर्नका लागि इनार र चौतर्फी सुरक्षा घेराका लागि बनाइएका नौओटा प्वाल छन् । उपरदाङगढी चितवनमा भए पनि यो नाम देशकै इतिहाससँग जोडिएको छ । उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो, जसको इतिहास नेपालको एकीकरणसँग जोडिएको छ ।
तपाइँको प्रतिक्रिया