सामुदायिक विद्यालय खोज्दै अभिभावक

नेपालगञ्ज । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइ राम्रो हुन थालेपछि बाँकेका अधिकांश अभिभावकले निजी विद्यार्थी छोडेर बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न थालेका छन् । पछिल्लो समय बाँकेमा निजी विद्यालयभन्दा सामुदायिकमा विद्यार्थीले उत्कृष्ट नतीजा ल्याएकाले अभिभावहरू सामुदायिक विद्यालयतर्फ आकर्षित भएका हुन् ।
निजी विद्यालय सरह सामुदायिक विद्यालयले पनि विद्यार्थी बोक्न सवारीसाधनको समेत जोहो गर्नुका साथै अंग्रेजी माध्यमले पढाउन थालेकाले अधिकांश अभिभावकको रोजाइ सामुदायिक विद्यालय भएको बैजनाथ–३ की मीना चौधरीले बताइन् । उनले भनिन्, ‘निजीभन्दा सरकारीमा पढाइ राम्रो हुने र सरकारी पढेकाले मान्यता पाउने हुँदा आफूले बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरेकी हुँ ।’ खजुराको आदर्श मावि डीगाउँ, ज्ञानोदय नमूना मावि खजुरा र जनता नमूना मावि सन्तकुटी र बैजनाथको जीगाउँमा रहेको प्रभात माध्यमिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन शुरू गरेपछि विद्यार्थीको संख्या वर्षेनि बढिरहेको छ । आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले संस्थागत विद्यालय छोडेर विद्यार्थीहरू आदर्श माविमा भर्ना भएको जानकारी दिए ।
कतिपय सामुदायिक विद्यालयले शिशु कक्षादेखि नै अंग्रेजी माध्यममा पढाउने गरेका छन् । अहिले अभिभावकले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्ने क्रम बढेको प्रधानाध्यापक सापकोटाले बताए । सरकारले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका विभिन्न अवसर र छात्रवृत्तिमा प्राथमिकता दिन थालेपछि माथिल्लो कक्षामा पुगेका विद्यार्थीलाई सरकारी विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ ।


‘हामीले राम्ररी व्यवस्थापन गरेर विद्यालय चलाएका छौं, रिजल्ट राम्रो छ, अध्ययनका लागि आवश्यक पूर्वाधार छ, धेरै मिहिनेत गरेर पढाउँछौं भने आफ्नै छोराछोरीलाई किन अन्यत्र पढाउने ?’ प्रधानाध्यापक सापकोटाले भने, ‘निजी विद्यालयभन्दा हामी कुनै कुरामा कम छैनौं ।’ अधिकांश नेपालीको आयस्तर न्यून छ । त्यसैले महँगो विद्यालयमा पढाउन सक्ने हैसियत कमैको हुन्छ । राम्रो छनोट गर्न सक्ने हो भने निजीले थोपर्ने व्ययभारबाट मुक्त हुन सकिने प्रधानाध्यापक सापकोटाको तर्क छ ।
सामुदायिक विद्यालयमा विभिन्न प्रकारका छात्रवृत्ति सुविधा हुन्छन् । समुदायको स्रोतबाट समेत चल्ने भएकाले त्यहाँ विभिन्न आर्थिक कोष बनाएर विद्यार्थीहरूका लागि छात्रवृत्ति राख्ने गरिन्छ । त्यसबाहेक सरकारले नै तोकिदिएको करीब तीन प्रतिशतलाई दिनैपर्ने छुट्टै छात्रवृत्ति त छँदै छ । पछिल्लो समयमा सरकारले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने नीति लिएको छ ।
एक निर्वाचन क्षेत्रमा कम्तीमा एक प्राविधिक शिक्षालयको योजना सरकारको छ । त्यही योजना अन्तर्गत माध्यमिक तहमा हाल २४० ओटा विद्यालयमा प्राविधिक विषय पढाइ हुन्छ । तीमध्ये ६० ओटाभन्दा बढी विद्यालयमा पनि प्राविधिक पढाइ हुन थालेको छ । प्राविधिक अन्तर्गत विद्यालय तहबाट कृषि, कम्प्युटर, सिभिल इन्जिनियरिङ लगायत विषय पढाइ हुन थालेपछि प्राविधिक विषय पढ्ने विद्यार्थीका लागि सामुदायिक विद्यालय उपयुक्त बन्न थालेका छन् ।
प्राविधिक विषय पढ्न धेरै ठूलो अतिरिक्त शुल्क तिर्नुपर्दैन । नियमित शुल्ककै हाराहारीमा पढ्न पाइन्छ । कतिपय सामुदायिक विद्यालयहरूमा भने व्यवस्थापकीय कमजोरी रहे पनि पछिल्लो समय सुधार हुँदै आएको पाइन्छ । अहिले शिक्षाको सबै अधिकार स्थानीय तहमा सरेको छ । स्थानीय तहहरूले निजी तथा सरकारी विद्यालयको अनुगमन गर्न थालेपछि धेरै सामुदायिक विद्यालयले व्यवस्थापकीय कमजोरीलाई सुधार्दै गएका छन् ।अभियानबाट
तपाइँको प्रतिक्रिया