पहिलो दिन नै दुई स्वर्ण सहित गौरिकाले बनाईन् नयाँ किर्तिमान

नेपालगञ्ज, बैशाख ८ – नेपाल आर्मी क्लबकी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी खेलको पहिलो दिन नै दुई स्वर्ण पदक हात पारेकी छिन् । गौरिकाले २ स्वर्ण सहित एक कीर्तिमान पनि बनाएकी छिन् ।
बाँकेको नेपालगञ्जमा आइतबार सम्पन्न खेलमा गौरिकाले ५० मिटर ब्याकस्ट्रोक र ८०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । उनले ५० मिटरमा भने स्वर्ण सहित राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । उनले ३०.८५ सेकेन्डमा दूरी पूरा गरिन् । त्यस्तै, नेपाल पुलिस क्लबकी अनुस्का पोखरेल दोस्रो तथा एपीएफकी युस्का महर्जन तेस्रो हुन सफल भएकी छिन् ।त्यस्तै गौरिकाले ८०० मिटर फ्रिस्टाइलमा ९ मिनेट ३९.२२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । आर्मीकै उपास्ती महर्जन दोस्रो भईन् भने समिरा शोभा थापाले तेस्रो स्थान हात पारिन् ।
त्यस्तै, पुरुषतर्फका ५० मिटर फ्रिस्टाइलमा ३२.८१ सेकेन्डमा पूरा गर्दै एपीएफका तेन्जिङ गुरुङले नयाँ कीर्तिमानसहितस्वर्ण पदक जितेका छन् । प्रदेश तीनका जयन्त प्रकाश गुरुङ दोस्रो हुदा नेपाल पुलिस क्लबका तरुण भण्डारी तेस्रो भएका छन् ।पुरुषतर्फकै ८०० मिटर फ्रिस्टाइलमा एनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण पदक हात पार्दा एपीएफका नासिर हुसेनले रजत तथ्क एपीएफ क्लबकै उग्रेन महर्जनले कास्य पदक जितेका छन् ।
ब्याकस्ट्रोकका एपीएफका सुभम श्रेष्ठले नयाँ किर्तिमान बनाएका छन् । १०० मिटरको दुरी १ मिनेट ८.१५ सेकेन्डमा पुरा गर्दै नयाँ किर्तिमन सहित स्वर्ण पदक हात परेका हुन् । पुलिसका सायद हाम्जा शाहले रजत तथा पुलिसकै दिपांकर अवालेले कास्य पदक हात परेका छन् ।यसै स्पर्धामा महिलातर्फ आर्मीकी दुएना लामाले स्वर्ण पदक हात पार्दा एपीएकी तिसा शाक्यले रजत तथा आर्मीकी उपास्ती महर्जनले कास्य जितेकी छिन् ।
पुरुष २०० मिटर बटरफ्लाइमा एनआरएनएका नाथन दोर्जे शेर्पा पहिलो बने । आर्मीका अनुभव सुब्बा दोस्रो हुदा नेपाल पुलिसका सायद हम्जा शाह तेस्रो बने ।महिलातर्फका यसै स्पर्धामा दुएना लामाले नै स्वर्ण पदक, एपीएफकी श्रीबी महर्जन राजत तथा एपीएफकै दिया स्थापितले कास्य हात पारिन् ।
तपाइँको प्रतिक्रिया