सहकारी सङ्घ चितवनले निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन

चितवन, वैशाख ८ – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन कार्यक्रममा उहाँले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
तीन खम्बे अर्थ नीतिअन्तर्गतको सहकारी अन्ततः सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अनिवार्य सर्त भएको भन्दै उहाँले समाजवादोन्मुख राज्यको परिकल्पना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै प्रमुख राजनीतिक दल र नेताले राष्ट्रिय सहमतिका साथ एउटा सङ्कल्प गरेका छौँ, हामी सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ नेपाललाई लिएर जाने छौँ ।”
संविधानले नै अर्थ नीतिको परिकल्पना गर्दा तीन खम्बे नीति भनेर सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थतन्त्रलाई अगाडि बढाउने स्पष्ट निर्देश गरेको उहाँले बताउनुभयो ।संविधानअनुसार नै आवश्यक नियम ऐन बन्ने प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । दाहालले नेपालको पहिलो सहकारी बखान सहकारी चितवनमा नै रहेको भन्दै सहकारी अभियानको संस्थापक जिल्ला भएको पनि बताउनुभयो ।
देशमा विकास निर्माणका थुप्रै रेकड राख्ने काम हुँदै गएकोमा धेरै चितवनमा हुने भन्दै त्यसको पनि केन्द्र भरतपुर महानगर रहने बताउनुभयो । सो पम्प दर्ताको प्रक्रियामा आफूले समेत सहयोग गरेको दाहालको भनाइ थियो ।कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष टीकाराम भट्टराईले जिल्लाका २९४ सहकारीको रु २५ हजारदेखि पाँच लाखसम्मको लगानीमा पम्प शुरु गरिएको बताउनुभयो ।
सोही अवसरमा सङ्घले निर्माण गरेको पम्प निर्माण उपसमितिका संयोजक भक्तिराम अधिकारीले अन्य पम्पको भन्दा प्रतिलिटर २५ पैसा सस्तोमा तेल बिक्री गरिने बताउनुभयो ।भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो । पम्प निर्माणका लागि रु चार करोड ६६ लाख ३७ हजार खर्च भएको अधिकारीले बताउनुभयो ।
अत्याधुनिक प्रविधिबाट नमूना पम्प निर्माण गरेको बताउँदै उहाँले पेट्रोल र डिजेल गरी एक लाख चार हजार लिटर क्षमता रहेको बताउनुभयो । एकै पटकमा आठ वटा गाडीमा तेल हाल्ने व्यवस्था मिलाइएको छ ।एक बिघा क्षेत्रफलमा फैलिएको पम्पमा अपाङ्गमैत्री शौचालय, भान्छा घर, ग्रोसरी, ज्याक वास, हावा भर्ने ठाउँलगायत सबै सुविधा रहेको छ । सोही क्षेत्रमा २२ वटा सटरसमेत निर्माण गरी यात्रुलाई सेवा दिन लागेको अधिकारीले बताउनुभयो ।
एक वर्ष अघि निर्माण थालिएकोमा हालै मात्र आयल निगमद्वारा सञ्चालन अनुमति दिएपछि पम्प सञ्चालनमा आएको हो । चौबीसै घण्टा पम्प सञ्चालन गरिने जनाइएको छ ।सङ्घले सोही ठाउँमा बहुउद्देश्यीय भवन र फूलबारीमा तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने योजना बनाएको सङ्घका उपाध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिनुभएको थियो । (रासस)
तपाइँको प्रतिक्रिया