बार्सिलोना उपाधी नजिक

बैशाख ८ – स्पेनिस ला लिगामा बार्सिलोना उपाधी नजिक पुगेको छ । ल लिगा अन्तर्गत गए राती सम्पन्न खेलमा रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना उपाधी नजिक पुगेको छ । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २-१ ले बिजयी भयो ।
निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै क्लेमेट लेङलेटले बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । उनले उस्मान डेम्बेलेको कर्नर किकमा सुन्दर हेडर गोल गरेका थिए ।
दोस्रो हाफमा घरेलु टोलीले खेलमा फर्कने संकेत गर्यो । ६२ औं मिनेटमा जुआन्मीले गोल गर्दै सोसिडाडलाई खेलमा फर्काएका थिए । तर लगत्तै बार्सिलोनाले दोस्रो गोल गर्यो । ६४ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । बाँकी समयमा दुबै तर्फबाट गोल हुन सकेन र बार्सिलोना २-१ ले बिजयी भयो ।


जित पछी शिर्ष स्थानको बार्सिलोनाको ३३ खेलबाट ७७ अंक भएको छ । सोसिडाड भने समान खेलबाट ४१ अंकका साथ १० औं स्थानमा रहेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ९ अंकले अघी रहेको छ । समान खेल खेलेको एथ्लेटिको ६८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । लिगमा अब केबल ५ खेल बाँकी रहदा बार्सिलोनालाई उपाधी जित्न २ जित नै काफी रहेको छ ।
गए राती कै अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले एइबर माथि संघर्षपूर्ण १-० को जित निकालेको छ । यस्तै सेल्टा भिगोले जिरोनालाई २-१ ले पराजित गर्दा रायो भालेकानो र हुएस्काले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् । (एजेन्सी)
तपाइँको प्रतिक्रिया