तीनतहका सरकारवीच समन्वय र सहकार्य हुनुपर्छ ः मुख्यमन्त्री पौडेल

बैशाख ६, चितवन , प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समन्वय र सहकार्य हुन सके मात्रै विकास निर्माण अघि बढ्ने बताउनु भएको छ । नेपाल नेत्रज्योति संघ प्रदेश नं. ३ ले शुक्रबार भरतपुरमा आयोजना गरेको प्रादेशिक गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीन तहका सरकार र निजी क्षेत्र समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
तीन तहका सरकारबीचमा सहकार्य हुन सके मात्रै विकास हुने भन्दै उहाँले भन्नुभयो “हाम्रा सरकार–सरकारबीचमा सहकार्य छैन, तीन तहले आ–आफ्नै ढंगले काम गरिरहेका छन् ।” सरकारबीचको समन्वयसँगै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नु पर्ने उहाँले बताउनुभयो ।
अर्काे एक प्रसंगमा उहाँले प्रदेशको राजधानी किमार्थ काठमाण्डौं लैजान नसकिने बताउनुभयो । विकेन्द्रीकृत शासन व्यवस्था हुनुपर्ने भन्दै उहाँले जहाँ विकास भएको छैन त्यहाँ बढी जोड दिनुपर्ने बताउनुभयो ।
उत्पादन र रोजगारीसँग जोडिने गरी विकास गर्नुपर्ने भन्दै उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । काम गर्ने शैलीमा परिवर्तन गर्न नसक्दा चाहेजति काम गर्न नसकिएको उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले नेपालको अन्धोपन निवारण गर्न नेपाली सक्षम छन् भनेर देखाउन नेत्रज्योति संघ सफल भएको बताउनुभयो । उहाँले संघलाई अनुदान होइन, काम दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सरकारले अनुदान दिए हामी अल्छी हुन्छौं । काम र पारिश्रमिक दिन अनुरोध गर्छु ।”
सो अवसरमा बोल्दै प्रदेश सांसद घनश्याम दाहालले पछिल्लो समय आंँदाका विरामीको चाप बढेको बताउंँदै अस्पतालको पूर्वाधर निमार्णमा ध्यान दिन आबश्यक रहेको बताउनु भयो । कार्यक्रममा संघका केन्द्रीय कार्यालयका प्रवक्ता डा. घनश्याम भट्टराई, कार्यकारी निर्देशक शैलेस मिश्र, संघका चितवन सभापति कृष्णराज धरेललगायतले बोल्नु भएको थियो ।
संघले प्रदेश नं. १ र २ पछि यस प्रदेशमा कार्यक्रमको आयोजना गरेको हो । संघको प्रदेश नं. ३ का संयोजक चिजकुमार मास्केले आँखा उपचारको विस्तारका लागि प्रादेशिक रुपमा संघ लागिपर्ने बताउनुभयो ।संघले देशका विभिन्न जिल्लामा आँखा अस्पताल सञ्चालन गरेर सेवा दिंदै आएको छ
तपाइँको प्रतिक्रिया