नारायणगढका घरधनीको मनपरी : अण्डरग्राउण्ड पार्किङमा ब्यापार

चितवन, बैशाख ६ – नारायणगढ बजार क्षेत्रको फुटपाथमा हिड्न यात्रुलाई निकै असजिलो हुन्छ । फुटपाथ मोटरसाइकल पार्किङले भरिएको छ। व्यवस्थित पार्किङ महानगरपालिका लागि पनि टाउको दुखाइको विषय बन्दैं आएको छ । बजार क्षेत्रमा केही जमिन भाडामा लिएर भएपनि महानगरले गरेको पार्किङ व्यवस्थापन प्रभावहिन छ । नारायणगढका धरधनीले बनाएको पार्किङमा ब्यापार मौलाएको देखिन्छ । महानगरपालिकाका इन्जिनियरसमेतले अण्डरग्राउण्ड पार्किङमा ब्यापार गरेको पाइन्छ ।
अण्डरग्राउण्ड पार्किङका लागि बनाएको ठाँउ आचार्यले भाडामा दिएका छन् । पार्किङ भने सडकमा गर्न लगाएका छन् उनले । बजार क्षेत्रका एकाध कम्प्लेक्स बाहेक अधिकांशले सटर बनाएर भाडामा लगाएका छन् । फुटपाथमा ब्यापार गर्नेहरुलाई लखेट्ने महानगरपालिका बडेमानमा घरको अण्डरग्राउण्ड पार्किङमा भैरहेको ब्यापारका बारे अनभिज्ञ छ । घरधनीहरूले पार्किङ गर्ने उद्धेश्यले बनाएका यस्ता ठाँउमा बर्षोदेखि भाडामा लगाएर खाइरहेका छन् । अण्डरग्राउण्ड पार्किङमा बनाइएका एउटा सटरको भाडामा २० हजारदेखि ४० हजारसम्म लिने गरिएको छ ।
बजार क्षेत्रमा निर्माण गरिएको तेजमान प्लाजा, ज्ञानेन्द्रमान शाक्यको लोकमान प्लाजा, सेवन पन्तको नारायणगढ कम्प्लेक्स, एटिएम होम, धनञ्जय गुप्ताको सिटी प्लाजा, मिलन मार्केट, नारायणगढ सिटी कम्प्लेक्स, पशुपति प्लाजा, कृष्णमान प्लाजा छन् । यी बाहेकका अन्य कम्प्लेक्सहरूको पनि अवस्था यही नै हो । इन्द्रदेव मार्केट र केएल मल लगायतका केही ब्यापारिक भवनमा भने अण्डरग्राउण्ड पार्किङको प्रयोग भैरहेको छ ।
एकथरी घरधनीले पार्किङमा ब्यापार गरेपछि केहीले चलाएका अण्डरग्राउण्ड पार्किङ पनि बन्द गर्न थालेका छन् । ‘अरुले अण्डरग्राण्उण्डमा ब्यापार गर्दा हामीले पार्किङ गर्न दिनुपर्दछ भन्ने छ र ?’ एक घरधनीले ए टु जेड समाचार सँग भने, ‘महानगरपालिकाले सबैलाई समान नीति कृष्णमान प्लाजाका मालिकले घरको अण्डरग्राउण्ड पार्किङ गर्ने ठाँउमा नै च्यानल गेट लगाएर बसेका छन् ।
सटर भाडामा लिनेहरुले समेत फुटपाथमा नै पार्किङ गराउँदै आएका छन् भने, ग्राहकका सवारी पनि त्यही नै पार्किङ गरिन्छन् । कृष्णमान प्लाजामा सटर भाडामा लिएर ब्यापार गर्दै आएका एक व्यवसायीले नाम नबताउने शर्तमा दुखेसो गर्दै भने, ‘कम्प्लेसको आफ्नै पार्किङ छ तर हामीले समेत प्रयोग गर्न पाएका छैनौं, घरधनीलाई भन्यो भने, बस्न मन लागे बस्नु नभए जानु भनेर धम्की दिन्छन् । भाडा पनि मनपर्दी छ ।’ घरधनीले भनेजति भाडा तिर्दा पनि कुनै सुविधा नदिएको उनको भनाई छ ।
उद्योग बाणिज्य संघ चितवनको अध्यक्षको उम्मेदवार समेत बनेका लोकमान प्लाजाका सञ्चालक ज्ञानेन्द्रमान शाक्यले नारायणगढ बजारमा अण्डरग्राउण्ड पार्किङ चाहिन्छ भनेर आफुले ‘कन्सेप्ट’ दिएको बताउँछन् । तर, शाक्यकै लोकमान प्लाजाको अण्डरग्राउण्डमा सटर बनाएर भाडामा दिइएको छ । शाक्यले भाडा उठाउँदैं आएका छन् ।
अण्डरग्राउण्ड पार्किङमा सामुहिक कलर ल्याव चलाउन भाडामा दिएका नारायणगढ कम्प्लेक्सका सञ्चालक सेवन पन्तले केही प्रतिशत भाग अण्डरग्राउण्ड पार्किङका लागि राखेको दावी गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले ब्यापारिक भवनहरूले अण्डरग्राउण्ड पार्किङ गर्ने स्थान भाडामा लगाएर ब्यापार गर्दा त्यसको असर फुटपाथ प्रत्यक्ष देखिएको बताए ।
‘फुटपाथ पैदल यात्रीहरुको लागि हो, तर हामीले फुटपाथमा नै पार्किङ गराउनुपरेको छ।’ ट्राफिक प्रहरी प्रमुख गिरीले भने, ‘जे उद्धेश्यका लागि अण्डरग्राउण्ड पार्किङ बनाइएको हो, त्यसका लागि नै प्रयोग गर्नुपर्दछ, गलत काम भैरहेको छ ।’ अण्डरग्राउण्डमा पार्किङ गर्न सके फुटपाथमा चाप कम हुने र पैदलयात्रुलाई सहज हुने ट्राफिक प्रमुख गिरीको भनाई छ ।
महानगरपालिकासँग छैन नीति
बजार क्षेत्रमा ब्यापारीक उद्धेश्यका साथ भवनहरु बन्ने क्रम तीव्र छ । तर, भरतपुर महानगरपालिकासँग ब्यापारिक भवनको अनिवार्य अण्डरग्राउण्ड पार्किङ हुनुपर्छ भन्ने नीतिगत व्यवस्था कहि पनि छैन । नारायणगढ बजार क्षेत्रमा दुई बर्षअघिदेखि बन्न थालेका कतिपय ब्यापारीक भवनले अण्डरग्राउण्ड पार्किङ बनाएका छैनन् ।
नत खुल्ला पचास प्रतिशत स्थान नै छाडेका छन् । ति ब्यापारीक भवनमा सटर भाडामा लिने वा आउने ग्राहकका सवारी कहाँ राख्ने भन्ने विषयमा महानगरपालिकाले खास चासो दिएको छैन । महानगरपालिकाका इन्जिनियर सूर्यप्रकाश लामाले ब्यापारिक उद्धेश्यका साथ बनेका भवनहरुको अनिवार्य रुपमा अण्डरग्राउण्ड हुनुपर्दछ भन्ने नीतिगत व्यवस्था कहि पनि नभएको बताए ।
उद्योग बाणिज्य संघ चितवनले अण्डरग्राउण्ड पार्किङमा ब्यापार नगर्न ब्यवसायीहरुलाई पटकपटक सचेत गराए पनि अट्टेरी गरेको संघका अध्यक्ष सहनलाल प्रधानको भनाई छ । महानगरपालिकाकी मेयर रेनु दाहालले यस्ता भवनको अण्डरग्राउण्ड पार्किङमा सटर बनाएर भाडामा लगाएको विषय जानकारी नभएको बताएकी छिन् । ए टु जेड समाचार सँग कुरा गदै मेयर दाहालले यसलाई महानगरपालिकाको बोर्ड बैंठकमा एजेण्डाको रुपमा लैजाने बताइन् ।
तपाइँको प्रतिक्रिया