रथ तान्ने क्रममा भक्तपुरमा ढुंगा हानाहान

भक्तपुर, वैशाख ६ बिस्केट जात्राको रथ तान्ने क्रममा भक्तपुरमा गएराति ढुंगा हानाहान भएको छ ।ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो ।
गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न भएको भक्तपुर प्रहरीले जनाएको छ ।
ढुंगा हानाहानमा भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ घाइते भएका छन् । त्यस्तै, मनीष कासुला र रिमेश शाही पनि घाइते छन् । रथबाट खसेर अर्का १ जना घाइते भएको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका–५, चोछेका पुण्यराम सितिखु रथबाट लडेर घाइते भएका हुन् ।घाइते सबैको भक्तपुर अस्पतालमा उपचार गरिएको छ ।केहीबेर तनाव भएपनि स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तानेर टौमढी, गःहिटी हुँदै वंशगोपाल लगिएको छ ।
तपाइँको प्रतिक्रिया