चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

बैशाख ४,चितवन। जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज साँझ भरतपुर महानगरपालिकाको वडा नम्बर ११ वाईपास रोडमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्कीदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने अर्का साईकल चालक घाईते भएका छन् । मृत्यु हुनेमा कालिका नगरपालिकाको शक्तिखोर बस्ने ३७ वर्षिय रेशम बहादुर गुरुङ् रहेका छन् ।
रामनगरबाट केन्द्रिय वस ट्रमिनल तर्फ आउँदै गरेको वा ४६ प ७८३० नम्बरको मोटरसाईकलका चालक गुरुङले सोहि दिशातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएका थिए । साईकल संगको ठक्करबाट सडकमा लडेका गुरुङ्लाई सोहि दिशावाट आउँदै गरेको बा ४ ख ७६ नम्बरको ट्रकले ठक्कर दिदा उनको मृत्यु भएको हो । उनको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट साईकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ११ का ७२ वर्षिय श्याम कुमार श्रेष्ठ घाईते हुनु भएको छ । घाईते श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार अर्को दुर्घटनामा पूर्वी चितवनमा भएको छ । पूर्वी चितवनको भित्रि सडकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १० जयमंगलाका २३ वर्षिय रन्जित दराई रहेका छन् । आज विहान ११ वजे रत्ननगरनगरपालिकाको वडा नम्बर १० बहेरियामा मा ग १ ख ६८११ नम्बरको ट्रकले ना १३ प ५४२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ दराई गम्भिर घाईते हुनु भएको थियो ।घाईते दराईको उपचारका क्रममा चितवन मेडीकल कलेजमा साँझ सवा ५ वजे मृत्यु भएको हो ।
यस्तै ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा मोटरसाईकल र माईक्रोवस एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गोर्खा नगरपालिका वस्ने ४० वर्षिय सम्भू खड्का रहेका छन् ।
पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको वा २ ख २२४८ नम्बरको माईक्रोले बिपरित दिशावाट आउँदै गरेको ग ७ प ९३९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । माईक्रोको ठक्करबाट उछिट्टीएका मोटरसाईकल चालक खड्कालाई पोखराबाटै काठमाडौं तर्फ जान आउँदै गरेको वा २ ख १९१२ नम्बरको माईक्रोमा ठक्कर दिएको थियो ।
दुई वटा माईक्रोको ठक्करबाट घाईते खड्काको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा साँझ ७ वजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएका सवारी चालक सबै प्रहरीको नियन्त्रणमा छन ।
तपाइँको प्रतिक्रिया