भारतमा नोटबन्दीपछि ५० लाख मानिसले गुमाए रोजगारी

बैशाख ४, २०७६,काठमाडौं – भारतमा रोजगारीका विषयमा एउटा रिपोर्ट सार्वजनिक भएको छ ।
रिपोर्टका अनुसार, विगत दुई वर्षमा लगभग ५० लाख मानिसले जागिर गुमाएका छन् ।
स्टेट अफ वर्किङ इन्डिया २०१९ रिपोर्टमा यो दाबी गरिएको हो । मंगलवार बेंगलुरुको अजीम प्रेमजी विश्वविद्यालयले रिपोर्ट जारी गरेको हो ।


सन् २०१६ देखि २०१८ को बीचमा लगभग ५० लाख मानिस बेरोजगार भएको र त्यसको प्रारम्भ सन् २०१६ को नोटबन्दीसँगै भएको रिपोर्टमा उल्लिखित छ ।
तर जागिर घट्नु र नोटबन्दीका बीचमा सीधा सम्बन्ध स्थापित गर्न नसकिएको रिपोर्टमा उल्लिखित छ ।
उच्च शिक्षा ग्रहण गरिसकेका मानिस र कम शिक्षित मानिस दुवै बेरोजगारीको शिकार बनेको रिपोर्टमा लेखिएको छ । भारतको श्रम बजारमाथि जारी यो रिपोर्टको आधा कन्ज्युमर पिरामिड सर्वे हो । यो सर्वेक्षण सेन्टर फर मोनिटरिङ दी इन्डियन इकोनोमीले गराउने गरेको छ ।
सर्वेक्षण हरेक चार महिनामा गरिन्छ जसमा १.६ लाख परिवार र ५.२२ लाख मानिसलाई समावेश गरिन्छ ।
बेरोजगारी सन् २०११ पछि तीव्र गतिमा बढिरहेको छ । तर सन् २०१६ पछि उच्च शिक्षा लिएकाहरू र अल्पशिक्षित दुवैको जागिर गुम्यो र काम गर्ने अवसर पनि घट्यो ।
एजेन्सी
तपाइँको प्रतिक्रिया