बिक्रम बाबा मेला फोहोरको जात्रा (भिडियो सहित)

सुशिल पन्त/प्रेम सापकोटा
चितवन , बैशाख ४ – चैत्र २२ गतेबाट शुरु भएको बिक्रम बाबा मेला तथा पूजा फोहोरको जात्रा भएको छ । मेला तथा पूजामा आउने भक्तजनहरुले प्लास्टिक जन्य बस्तुहरु जथाभावी फाल्दा निकुञ्ज प्लास्टिकमय बनेको छ । पूजा गर्न आउने भक्तजनहरुले प्लास्टिकको झोला तथा पानीको बोतल जथाभावी रुपमा फाल्दा प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको निकुञ्ज प्लास्टिक युक्त भएको छ । पूजा शुरु हुनु अघी प्लास्टिकका झोला पूर्ण रुपमा निषेध गर्ने भनिए पनि कार्यन्वयन हुन नसक्दा प्लास्टिकको फोहोर थुप्रिएको हो ।
निकुञ्जलाई यस अघी नै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको थियो । तर पूजा गर्न आउने भक्तजनहरुले र्यापिङ गरिएका जङ्कफुडका खोल, प्लास्टिकका झोला र पानीको बोतल जथावाभी फाल्दा निकुञ्ज प्लास्टिकमय भएको छ । निकुञ्ज वारी लागेको मेला देखी निकुञ्ज भित्रको पूजा स्थल सम्म जहाँ त्यही प्लास्टिक जन्य बस्तुहरु जथाभावी रुपमा फालिएका छन् ।


मेला तथा पूजा शुरु हुनु अघी भएको राष्ट्रिय निकुञ्ज विभाग, पूजा व्यवस्थापना समिती, मेला आयोजक, स्थानीय निकाय , सुरक्षा निकाय तथा सरोकारवालाहरु बिचको छलफलले प्लास्टिकका झोला पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय बिपरित निकुञ्जमा प्लास्टिकको झोला नै प्रयोग भएका छन् ।निकुञ्ज भित्र चारैतिर प्लास्टिकका फोहोरहरु मात्र रहेका छन् । यसरी जथाभावी रुपमा फालिएका प्लास्टिकका कारण निकुञ्जको स्वरुप नै कुरुप भएको छ ।
यस्तै पूजा गर्ने स्थान नजिक ठुलो खाडल बनाएर प्लास्टिक जलाउने गरेको पनि पाईएको छ । पूजा व्यवस्थापन समितीका सदस्यहरुकै अगाडि त्यसरी प्लास्टिक जलाईदा समेत उनिहरु मौन रहेका छन् । त्यसरी प्लास्टिक जलाउने कार्य समितीकै सदस्यहरुको आग्रहमा भएको हुन सक्ने देखिएको छ । उनिहरुले आफ्नो काम झारो टार्ने हिसाबले मात्र गरेको देखिन्छ ।
बिक्रम बाबा पूजा तथा मेला व्यवस्थापन अनुगमन समितीका संयोजक सहायक वन अधिकृत गोपाल घिमिरेले प्लास्टिक निषेध गरे पनि त्यसको बिकल्पमा तयारी नपुग्दा यस्तो भएको बताए । उनले प्लास्टिकका झोलाको बिकल्पमा कपडा झोलाको व्यवस्था गरिए पनि त्यसले धान्न नसकेको बताए ।
‘फोहोर उठाउन नगरपलिकाको गाडी नियमित रुपमा नआउँदा फोहोर व्यवस्थापन गर्न समस्या भएको हो उनले भने बिहान र दिँउसो भक्तजनको भिड हुने गरेकोले त्यस बेला फोहोरको गाडी छिराउन सम्भव छैन, बेलुका गाडी कहिले आउने कहिले न आउने गर्दा यस्तो भएको हो ।’ यस्तै उनले सफा गर्ने जिम्मा पूजा व्यवस्थापन समितीको भएको र उक्त समितीबाट पनि कमजोरी भएको बताए ।
पूजा व्यवस्थापन समितीका संयोजक शंकर महतोले आफुहरुबाट कमजोरी भएको स्विकार गरे । ‘हामीले प्लास्टिक निषेधित गर्ने निर्णय त गर्यौ तर तयारी पुगेन उनले भने प्लास्टिकको बिकल्प खोज्न नसक्दा यस्तो भयो ।’ उनले निकुञ्ज आँफैमा प्लास्टिक निषेधित क्षेत्र हुँदा पनि पूजा गर्ने भक्तजनलाई प्लास्टिक लैजानबाट रोक्न नसकिएको बताए ।
उनले छोटो समयको फितलो तयारीको परिणाम स्वरुप प्लास्टिक मुक्त क्षेत्र अहिले प्लास्टिक युक्त क्षेत्र हुन गएको बताए । प्लास्टिकको झोलाको बिकल्पमा कागज र कपडाको झोलाको व्यवस्थापन पर्याप्त गर्ने नसकेको उनको भनाई छ । पूजा स्थलमा ठुलो खाडल बनाई प्लास्टिक जलाउने गरेको बिषयमा भने आफुलाई केही जानकारी नभएको उनले बताए । ‘म बेला बेलामा अनुगमन गर्न जादा त्यस्तो देखिएन, त्यसरी प्लास्टिक जलाएकै हुन सक्छ उनले भने त्यहा समितीका अन्य सदस्यहरु हुनुहुन्छ म उहाहरु सँग यस बिषयमा कुरा गर्नेछु ।’ उनले त्यसरी प्लास्टिक जलाउनु गलत भएको स्विकारे ।
यस्तै उनले सफा गर्नका लागि केही कर्माचारी राखिएको तर त्यसले पर्याप्त नभएको बताए । उनले आफुहरुबाट धेरै कमजोरी भएको बताउदै पूजा सकिएको २ दिन भित्रमा निकुञ्जलाई पहिलेकै अवस्थामा ल्याउने प्रतिबद्दता ब्यक्त गरेका गरे । ‘हामीले अहिले पनि सफा गरिरहेका छौ तर पूर्ण रुपमा सफा गर्न सम्भव भएन उनले भने पूजा सकिएको २ दिन भित्र प्लास्टिकको सानो टुक्रा पनि नरहने गरी सफा गर्छौ ।’
तपाइँको प्रतिक्रिया