अण्डाको मुल्य अहिलेसम्मकै न्यून, चर्को घाटामा अण्डा उत्पादक किसान

सूर्यप्रसाद अधिकारी, बैशाख ४, चितवन । केहीबर्षअघिसम्म अण्डाको बिक्रीबाट राम्रै आम्दानी गर्दै आएका किसानले यो बर्ष चर्को घाटा बेहोर्नुपरेको बताएका छन । उत्पादनमा खासै वृद्धि नभएपनि उपभोक्ताले खपत कम गरेपछि अण्डाको बिक्रिमा भारी गिरावट आएको हो । बजारीकरणको समस्या , अनर्गल प्रचारका कारण बाध्य भएर अण्डाको मुल्य घटाउनु परेको किसानहरु बताउंँछन । जसका कारण विगत एक दशक पछाडी सबैभन्दा बढी घाटा बेहोर्नुपरेको उनीहरुको भनाई छ ।
४० हजारवटा लेयर्स कुखुरा पालेका चितवन ज्यामिरेका किसान सुनील शाक्य विगत केहीबर्ष अगाडीको तुलनामा हाल सबैभन्दा बढी अण्डामा घाटा बेहोर्नुपरेको बताउनुहुन्छ । ‘अघिल्ला बर्षमा दाना औषधी, चल्ला सबै बस्तु तुलनात्मकरुपमा सस्तो थियो, अण्डा उत्पादन गर्दा फाइदा हुन्थ्यो,उहाँले भन्नुभयो, , अहिले प्रतिगोटा अण्डामा ४ रुपैयांँ घाटा छ ’। अण्डाको बजारीकरण अस्तव्यस्त भएको कारणपनि अण्डाको बिक्री कम भएको उहांँले बताउनु भयो । उत्पादनको तुलनामा खपत कम हुंँदा अण्डाको मुल्य घटाउनु परेको हो । बर्षायाम चाडै शुरु हुनु, अण्डा उत्पादक किसानहरु विकेन्द्रीकरण हुदै जानुले पनि अण्डाले बजार नपाउंँदा मुल्य घटाउनु परेको हो ।
झापा दमकका किसान माधव पराजुली बजारमा विभिन्न नकारात्मक हल्ला चलेका कारण पनि अण्डाको खपत कम भएको बताउनुहुन्छ । ‘अहिले सबैतिर विभिन्न रोगको हल्ला फैलिएको छ, सिमावर्ती वजारमा चोरीपैठारी पनि उत्तिकै छ’ उहांँले भन्नुभयो । अण्डालाई लामो समयसम्म भण्डारण गर्न नमिल्ने र यसको विविधिकरण प्रविधि नेपालमा नभएकोले बाध्य भएर घाटामा अण्डा बेच्नु परेको उहांँले बताउनु भयो । उहांँका अनुसार अण्डालाई प्रशोधन गरी विस्कुट, चाउचाउ , केक लगायत अन्य खाद्यवस्तुमा प्रयोग गर्न सके यस किसिमको समस्या नआउने उहांँको भनाई छ । देशभरी नै अण्डा उत्पादक किसानको संख्या बढ्दै जानु र सबै उपभोक्ताको पहुंँचमा अण्डा नपुगेका कारण पनि यस किसिमको समस्या भोग्नुपरेको हो । नेपालमा प्रतिव्यक्ति अण्डाको खपतदर कम हुनु, जनचेतनामा कमी भएका कारणपनि उत्पादनको तुलनामा विक्री हुन नसकेको किसानहरु बताउंँछन ।
दाङ्का अण्डा उत्पादक किसान श्रीधर ओली लागत मुल्य बढी, कच्चा पदार्थको भन्सार दरमा बृद्धि भएका कारण असन्तुलन भई यस किसीमको समस्या भएको बताउंँनुहुन्छ । ‘अहिले मेरो फार्ममा ६० हजार अण्डा उत्पादन गर्ने कुखुरा छन तर मैले मुश्किलले दैनिक दुईसय कार्टुन मात्र विक्री गर्नुपरेको छ’ उहाँले भन्नुभयो । अण्डाको उत्पादन राम्रो भएपनि बजारमा खपत नहुंँदा धेरैजसो उत्पादन कुहिएर गएको छ । जसका कारण अण्डा उत्पादक किसान विस्थापन हुने खतरा झनै बढेको छ । पोखराका अर्का किसान झलक बराल उत्पादन भएको अण्डा बिक्री नहुंँदा , बैंकको व्याज र दाना खरीद गर्न समेत मुश्किल परेको बताउनुहुन्छ,। ‘एकातिर अण्डा बिक्री हुदैन, अर्कोतिर दाना नगदमा किन्नुपर्छ, उहांँले भन्नुभयो, भएका कुखुरापनि बचाउन मुश्किल पर्ने भयो ।’
एकातिर बैंकको व्याज, दानाको मुल्यमा बृद्धि, हुंँदा किसानहरु दोहोरो, तेहोरो मारमा परेको बताउंँनुहुन्छ संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कंडेल । ‘अहिले उत्पादनमा खासै बृद्धि त देखिदैन तर, खपत निकै कम छ ।’ अघिल्ला बर्षहरुमा माग र आपुर्तिको सन्तुलन भएपनि यस बर्ष अण्डा बिक्री हुन समस्या परेको उहांँले बताउनु भयो । मनसुन चांँडो शुरु भएका कारण माग भएपनि पहाडी क्षेत्रहरुमा अण्डा ढुवानी गर्न नसकिएको उहांँले बताउनु भयो । अण्डा बिक्री कम भएका कारण संघले सोमबारबाट लागु हुनेगरी अण्डाको मुल्य घटाएको छ । जसअनुसार यसअघि प्रतिक्रेट अण्डाको मुल्य ३६० रुपैयांँसम्म बेचिरहेका किसानले हाल प्रतिक्रेट २०० रुपैयांँ झरेपनि पनि अण्डा बिक्री हुन समस्या हुने कंडेलको भनाई छ ।
कंँडेलका अनुसार प्रति गोटा अण्डा उत्पादन गर्दा हालको बजार मुल्य अनुसार १० रुपैयांँ पर्दछ तर किसानले प्रतिगोटा ६ रुपैयांँमा बेच्नुपर्ने बाध्यता छ । संघले सोमबारबाट देशभर लागु हुनेगरी प्रतिगोटा अण्डाको उपभोक्ता मुल्य १० रुपैयांँ निर्धारण गरेको छ । देशभर अण्डाको दैनिक उत्पादन ५० लाख वटा छ भने, चितवनमा मात्रै यसको ४० प्रतिशत अण्डा उत्पादन हुदै आएको छ । देशभर अण्डा उत्पादक किसान ८०० को हाराहारीमा छन भने चितवनमा मात्रै २०० भन्दा बढी किसानले अण्डा उत्पादन गर्दै आएका छन ।
तपाइँको प्रतिक्रिया