फेसबुकबाट युवती फसाउन नक्कली एसपीको छोरादेखि परराष्ट्रको अधिकृतसम्म

काडमाडौं- अर्पणा पोखरेल (परिवर्तित नाम) जापान बस्छिन्। उनी विगत केही वर्षदेखि जापानमा पढ्दै ‘पार्ट टाइम’ काम गर्दै आएकी छिन्।
फ्रेबुअरी १५ मा उनलाई डिआर रमेश भट्ट नामको फेसबुक आइडीबाट रिक्वेस्ट आउँछ। बायो पढिन्।
‘सक्रेटरी एट एम्बेसी अफ चाइना इन लन्डन, सेक्रेटरी एट सेक्रेटरी– जनरल टु द पे्रसिडेन्ट, रिपल्बिक अफ चाइना एन्ड सेक्रेटरी एट चाइना गभर्मेन्ट स्कोलरसिप, लिभ्स इन बेइजिङ, चाइना।’
बायोबाट अर्पणाले अनुमान लगाउँछिन् मान्छे प्रतिष्ठित नै रहेछ। उनले एसेप्ट बटम दाबिन्।
एसेप्ट हुनासाथ डिआर रमेश भट्टले म्यासेज पठाउँछन् ‘हेलो।’
अर्पणाले फर्काउछिन् ‘हजुर।’
कता हो नानी घर? यस्तै-यस्तै प्रश्न डिआर रमेशले पठाउँछन्। ती युवतीले आफ्नो घर बताउँछिन्। डिआरको प्रश्नको उत्तर युवतीले दिँदै जान्छिन्।
उनले अहिले आफू जापानमा भएको बताउँछिन्।डिआर आफू हाल चाइना दूतावासमा कार्यरत रहेको बताउँछन्। डिआरले आफ्नो श्रीमती अमेरिका बस्ने बताउँछन्। छोरो पनि उतै पढ्दै गरेको ती युवतीलाई बेलिबिस्तार लगाउँछन्।
अर्पणाले नसोधेकै कुरा पनि डिआरले बताए। डिआर कसरी हुन्छ युवतीलाई आफू नजिक पार्न यसरी नसोधिएका कुरा पनि सुनाउँछन्।
कुरा गर्दै गएपछि डिआरले अपर्णालाई आफ्नो भतिजको विवाह गर्नुपर्ने भएको समेत सुनाउँछन्।
तिम्रो बानी राम्रो लाग्यो। जापानमा पढ्दै कमाउँदै पनि रहिछौं। मेरो भतिज पनि परराष्ट्रको अधिकृत हो। राम्रो छ। कुरा गर न। अंकलले कुरा गर्नु भएको थियो भनेर,’ डिआरले अर्पणालाई बताए।
‘डिआरको भतिजको नाम किशोर शर्मा हो। फेसबुकमा शर्मा किशोर छ। रिक्वेस्ट पठाउन लगाउँछु एसेप्ट गरेर कुरा गर,’ डिआरले अपर्णालाई फेसबुक म्यासेजमा लेखे।
केही छिनमा शर्मा किशोरबाट अर्पणालाई रिक्वेस्ट आउँछ। इन्ट्रोमा लेखिएको हुन्छ ‘सेक्सन अफिसर एट गभर्मेन्ट अफ नेपाल,’ लिभ्स इन वासिङ्टन, डिस्ट्रिक अफ कोलम्बिया।
अर्पणाले रिक्वेस्ट असेप्ट गर्छिन्।
डिआरले पहिल्यै नै आफ्नो भतिज किशोरको बारेमा अपर्णालाई बेलिबिस्तार लगाइसकेका थिए। ‘शाखा अधिकृत, आमाको भूकम्पमा ज्यान गएको, बाबु एसपी, बहिनी अमेरिकाको डोमेस्टिक एयरलाइन्समा पाइलट, घर अनामनगर।’
अपर्णालाई विश्वास दिलाउन पाइलट बहिनी र एसपी बाबु र भतिज किशोरको समेत फोटो म्यासेन्जरमा डिआरले पठाइसकेका हुन्छन्।
त्यसपछि किशोर र अपर्णाबीच कुराकानी सुरु हुन्छ।
उनीहरूबीच विवाह गर्नेसम्मका कुरा हुन थाल्छन्।
केही दिनपछि किशोरले अर्पणालाई आफूले कार किनेको र कारको किस्ता तिर्न तत्काल पैसा चाहिएको कुरा गर्छन्।
उनले कारको किस्ता तिर्नका लागि अर्पणासँग पैसा सापट माग्छन्। सुरुमा अपर्णाले विश्वास गर्दिनन्। किशोरले विश्वास दिलाएरै छाड्छन्। अन्ततः अपर्णा जापानबाट किशोरलाई पैसा पठाउन राजी हुन्छिन्।
तर किशोरले आफ्नो नागरिकता हराएकोले ठूलोबुवाको छोरा केशवराज भट्टको नाममा पैसा पठाउन आग्रह गर्छन्।
अपर्णाले जापानबाट अप्रिल ८ मा एक लाख रुपैयाँ केशवराज भट्टको नाममा काठमाडौंमा पठाउँछिन्।
अर्पणाले पैसा पठाएको एकदिन पछि अर्थात् चैत २६ गते महानगरीय प्रहरी अपराध महाशाखाले युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्दै ठगी गर्ने एक युवकलाई पक्राउ गर्छ। पक्राउको समाचार फोटोसहित विभिन्न मिडियामा आउँछन्।
नाम – केशवराज भट्ट
वर्ष –२६,
वतन- स्थायी घर डोटी भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएको।
नाम ठेगाना त मिल्दैन। तर फोटो उही किशोर शर्माको। त्यसपछि अपर्णाले थाहा पाउँछिन् किशोर शर्मा बनेर आफूलाई ठगी गर्ने व्यक्ति केशवराज भट्ट नै रहेछ। उनी आफैंले डिआर रमेश भट्टको नाममा फेसबुक अकाउन्ट खोल्ने, आफैं अंकल बन्ने र अर्पर्णासँग कुरा गर्ने।
फेरि अर्को आइडी शर्मा किशोर खोल्ने र भतिज बनेर फेरि अर्पर्णासँग आफैं कुरा गर्ने गरेको केवशलाई पक्राउ गरेपछि मात्रै युवतीले थाहा पाउँछिन्।
उनले अर्पणालाई ठूलोबुबाको छोरो केशवराज भट्ट भनेर पैसा पठाउन लगाएका थिए। यिनै केशवले विभिन्न ठाउँमा फेक फेसबुक आइडी खोल्दै युवतीलाई प्रलोभनमा पारेर ठगी गर्दै आएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
यसरी धेरै युवतीलाई ठगी गर्ने २६ वर्षीय भट्टलाई अपराध महाशाखाको टोलीले गत मंगलबार गौशालाबाट पक्राउ गरेको हो। केशवबाट पीडित भएकाहरूले उनलाई पक्राउ गरेका थिए।
यसरी ठगी गर्ने भन्दै पीडितले केशवलाई कुटपिट समेत गरेका थिए। नेपाल लाइभबाट
तपाइँको प्रतिक्रिया