चितवनमा स्मार्ट सिटी चर्चा मात्रै बढी, प्रगती शुन्य
बैशाख ३,चितवनः स्थानीय तहको निर्वाचनमा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले आ–आफ्नो नगरलाइ ‘स्मार्ट सिटी’ बनाउने उद्घोष गर्दै चुनावमा उठे विजयी पनि भए । जिल्लाका प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि दल र तिनका उम्मेदवारले ‘स्मार्ट सिटी’को नारा जोडदार रूपमा उठाएका थिए ।
विकसीत देशमा सुरुमा सूचना प्रविधिको क्षेत्रबाट अघि सारिएको स्मार्ट सिटीको अवधारणा अहिले सहरी विकासको एउटा आकर्षक मोडलको रूपमा विकासोन्मुख देशमा पनि व्यापक छलफलको विषय बनिसकेको छ । सञ्चार माध्यम, विभिन्न सभा, गोष्ठीमा स्मार्ट सिटीको चर्चा हुने क्रम घटेको छैन ।
केही समययता चितवनमा स्मार्ट सिटीको चर्चा निकै सुनिने गरेको छ । नगरप्रमुख देखि वडासदस्यहरुलेसम्म स्मार्ट सिटीको भाषण गर्दछन् । स्मार्ट सिटीको भाषण गर्नेहरु नै यस विषयमा अनभिज्ञ छन् । जिल्लाका मुख्य सहरलाई स्मार्ट सिटी वनाउने हल्ला धेरै, आवश्यक सल्लाह कम र प्रगती शुन्य हुदै गएको छ । स्मार्ट सिटी निर्माण हुने चर्चा चल्न थालेको धेरै भए पनि त्यसको भौतिक प्रगति भने शून्य अवस्था जस्तै छ ।
कुनै पनि शहर ‘स्मार्ट सिटी’ हुनलाई त्यहाँका भवन, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, शिक्षा सरकारदेखि जनतासम्म ‘स्मार्ट’ हुनुपर्छ । ‘स्मार्ट सिटी’ को प्रमुख आधार सूचना, संचार र प्रविधि नै हुन् । यी तीन प्रमुख तत्वको उचित प्रयोग गरेर शहरलाई सुविधासम्पन्न बनाउनु ‘स्मार्ट सिटी’ को प्रमुख अवधारणा हो । सूचना, संचार र प्रविधिको अधिकतम प्रयोग गरेर शहरको अर्थव्यवस्था, वातावरण, यातायात र प्रशासन चुस्तदुरुस्त नबनाइँदासम्म कुनै शहर ‘स्मार्ट’ बन्दैन ।
अहिलेसम्म स्मार्ट सिटीलाई लक्षीत गरी कनै परियोजना नै स्वीकृत भएको छैन । भौतिक विकास योजना पनि बन्न सकेको छैन । समग्रमा हालसम्मको भौतिक प्रगति शून्य नै छ । चर्चा भएजस्तो स्मार्ट सहर कस्तो बन्छ र कहिलेसम्म बन्छ भन्ने नै अनिश्चित छ ।
सरकारले देशका विभिन्न भागका १३ वटा स्थानलाई स्मार्ट सहरका रूपमा विकास गर्ने भएको छ । जसमध्ये तीनवटा (बाराको निजगढ, गोरखाको पालुङटार, रुपन्देहीको लुम्बिनी) को पहिलेदेखि नै अध्ययन भइरहेको छ । त्यस्तै, थप १० वटा सहरहरू धनकुटाको धनकुटा, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेपलाञ्चोकको काभ्रे, चिवतनको भरतपुर, स्याङ्जाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डडेल्धुराको अमरगढी, कैलालीको टीकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गरिने भएको छ ।
भरतपुरलाई स्मार्ट सिटी बनाउनका लाई दिर्घकालिन योजना अन्तर्गत काम आगडी बढाइएको बताउदै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दहालले विज्ञहरुसंग परामर्श भइरहेको बताउनुभयो । तथ्याँक संकलनको काम समेत सुरु भएको बताउदै उनले भरतपुरलाई स्मार्ट सिटी बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको काम समेतलाई प्रथामिकतामा राखेको उहाको भनाई छ ।
स्मार्ट सिटी भनेको सेवा–सुविधाले परिपूर्ण चुस्त सूचना–प्रविधिमय सहर हो । सूचना तथा सन्चार प्रविधिहरुको अधिकतम् उपयोग गरेर जनतालाई स्फूर्त बनाइ नयाँ सहर विकास गर्नका लागि स्मार्ट सिटीको अवधारण आएको हो । स्मार्ट सिटी बन्न सरकार, प्रशासन संयन्त्र, सेवा–सुविधा, सुशासन, चुस्त प्रविधि, आर्थिक सम्पन्नता र सचेत आमजनता हुनुपर्छ ।
स्मार्ट सिटी बनाउन योजनाबद्घ रूपमा बस्ती विकास हुनु जरुरी रहेको बताउदै प्रमुख दहालले नागरिकका लागि चाहिने बाटाघाटा कहाँ कस्तो बनाउने, खानेपानी तथा ढल निकास प्रणाली कस्तो हुने, कहाँ कस्तो घर बनाउने, कहाँ पार्क वा खुला क्षेत्र राख्ने, विद्यालय, स्वास्थ्य केन्द्र, बसपार्क, बजार केन्द्र कहाँ कस्तो राख्ने भन्ने बिषयमा महानगर सचेत रहेको बताउछीन ।
अहिले चितवनमा भइरहेको अव्यवस्थित सहरीकरण, विना योजना खेतबारीमा आफूखसी भइरहेको प्लटिङ गर्ने र घर बनाउने प्रचलन, पर्याप्त सार्वजनिक सुविधाको व्यवस्था नगरी सडकका दायाँ–बायाँ ठूलठूला निजी घरमात्र बन्ने प्रवृत्ति स्मार्ट सिटी निर्माणका लागि बाधक छन । स्मार्ट सिटी हुन जसले जहाँ जस्तो पनि भवन वा संरचना निर्माण गर्न पाउने अहिलेको खुला प्रवृत्तिमा रोक लगाउदै जानुपर्ने उहाले बताउनुभयो ।
तीव्र रूपमा विकास भइरहेको भरतपुर उपमहानगरपालिका भएको ३ वर्ष पूरा नहुँदै महानगरपालिका भएको हो । स्मार्ट सिटीको सम्भावनासँगसगै धेरै चुनौतीहरू पनि रहेको विज्ञहरु बताउँछन् । २०३५ सालमा नगरपञ्चायतसँगै २०४८ सालमा भरतपुर नगरपालिका बनेको हो । ०७१ मा उपमहानगरपालिका बनेको तीन वर्ष नपुग्दै ०७३ मा महानगरपालिका भएको हो ।
दुई ठुला मेडिकल कलेज, करिब एक दर्जन नर्सिङ कलेजहरु भरतपुरमै छन् । शैक्षिक हब बन्दै गएको भरतपुरमा पीएचडीसम्मको पढाइ हुन्छ । महानगरभित्रै कृषि विश्वविद्यालय छ । बिजुली, बैङ्क, सुपर मार्केट, ठुला होटेल तथा बसपार्कको समस्या छैन । मेडिकल सिटीको रूपमा चिनिएको भरतपुरमा क्यान्सर अस्पताल र भरतपुर अस्पतालले स्मार्ट सिटीको ढोका खोल्न सहयोग पु¥याउँछन् । दुई दर्जनभन्दा बढी ठुला निजी अस्पतालहरू छन् ।
स्मार्ट सिटी निर्माणका लागि पूर्वाधार पहिलो आवश्यकता हो । पूर्वाधार भन्नाले सडक तथा यातायात, खानेपानी, ढल निकास, विद्युत, फोहोर–मैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट जस्ता भौतिक पूर्वाधार तथा विद्यालय, खुला क्षेत्र, सार्वजनिक पार्क, प्रहरी चौकी, स्वास्थ्यचौकी, देवस्थल, पुस्तकालय, हुलाक, मसानघाट जस्ता सामाजिक पूर्वाधार पर्छन ।
ती पूर्वाधारको निर्माण गर्दा निर्माण तथा मर्मत–सम्भार सजिलै गर्न सकिने, किफायती, वातावरण–मैत्री र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाका लागि सहज हुने खालको हुनुपर्छ । सकेसम्म पैदल मार्ग, साइकल मार्ग र सार्वजनिक यातायातलाई प्राथमिकता राखी सडक तथा बाटाघाटा निर्माण गर्नुपर्छ ।
तपाइँको प्रतिक्रिया