प्राध्यापक दुव्र्यवहार प्रकरणः कारवाही नगरे शशक्त आन्दोलन गर्ने चेतावनी
बैशाख ३, चितवन। प्रजातन्त्रवादी प्रध्यापक संघले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक विष्णुराज ओझामाथी भएको दुव्र्यवहारका दोषीहरुलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । गत चैत २१ गते कृषि संकायको छैठौ सेमिस्टरका विद्यार्थीहरुले ओझामाथी कालोमोसो दलेको घटनाप्रति भत्र्सना गर्दै प्राध्यापकहरुले घटनामा संलग्न ६ जना विद्यार्थीलाई तत्काल कारबाही गर्नुपर्ने बताएका हुन् ।
घटनाका दोषीहरुलाई किटानी जाहेरी दिदा समेत पक्राउ नगरेको तथा ती विद्यार्थीहरुले सार्वजनिक सञ्चार माध्यममार्फत अभिव्यक्ति दिइरहेको भन्दै उनीहरुले आक्रोश पोखेका छन ।
प्राध्यापकहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै स्थानीय प्रशासनको नियतीमाथिनै नै आफूहरुलाई शंका उब्जिएको बताएका थिए । घटनालगत्तै दोषीलाई कारबाहीको माग गर्दै विश्वविद्यालयको परीक्षा समेत बन्द गराइएको प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य उप प्राध्यापक रामहरी तिमिल्सिनाले बताउनुभयो । पीडित प्राध्यापक विष्णुराज ओझाले आफ्नो आँखाको अप्रेशन गर्नुपर्ने भन्दै ३ दिन पढाएर बँकी कक्षा अप्रेशन पछि पढाउछु भनेर डिनलाई समेत जानकारी गराएर विदा लिएको बताउनुभयो । उहाले भन्नुभयो, ‘मैले आफ्नो समस्याका बारेमा डिनलाई जानकारी गराएर अप्रेशन पछि बाकी कोर्ष पढाउछु भनेकै थिए, मेरो संकायको प्रमुखलाई भनेको थिए, रजिष्टार उपकूलपतिलाई भन्नु जरुरी छैन ।’ घटनाका दोषीहरुलाई कानुन सम्म्त कारबाही गरी पीडितलाई न्याय दिलाउनुका साथै आगामी दिनमा यस्ता हर्कतहरुलार्ई समाप्त पार्नुपर्ने प्रजातन्त्रवादी प्राध्यापक संघ कृषि तथा वन विज्ञान विश्वविद्यालयका सचिव प्राध्यापक मुकेश कुमार सिंहको जोड थियो । घटनामा दोषी भनिएका सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेललाई कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले बैशाख २ गते सूचना जारी गर्दै ६० दिनका लागि निलम्बन गरिसकेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया