भन्सारनीति खुकुलो नभए प्रतिस्पर्धा गर्न नसक्ने
सूर्यप्रसाद अधिकारी, बैशाख २, चितवन । उद्योगहरुमा प्रयोग हुने कच्चापदार्थ आयातमा सरकारले भन्सारनीति खुकुलो नगरे स्वदेशी उद्योगी व्यवसायीहरुले विदेशी उत्पादनसंँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन । विदेशबाट आयात गरिने तयारी सामानको मुल्य भन्दा स्वदेशमा उत्पादित भएको बस्तुको लागत मुल्य बढी परेको भन्दै भन्सारनीति खुकुलो गर्नुपर्ने उनीहरुले माग गरेका छन । । आज भरतपुरमा नेपाल उद्योग परिसंघले आयोजना गरेको प्रदेश नम्बर ३, ४ ५ प्रदेशका उद्यमीहरुबीचको ‘पूर्व वजेट छलफल एवं अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले उद्योगीमैत्री वातावरण सिर्जना गर्न जोड दिएका हुन ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले कृषि, पर्यटन ,औषधीजन्य लगायत १२ वटा बस्तुका शिर्षकमा भन्सार कम लाग्ने भनिएपनि धेरैजसो आयातित वस्तुमा २७ प्रतिशतसम्म भन्सार तिरिरहनुपरेको बताए । महंगो भन्सारनीति सुधार्नुपर्ने भन्दै उपाध्यक्ष अधिकारीले आयातित कच्चा पर्दाथमा भन्सार दर घटाएमात्र विदेशीउत्पादन संँग प्रतिस्पर्धा गर्न सकिने बताए । ‘भन्सार दर कम भए हामी प्रत्येक उत्पादनमा आत्मनिर्भर पनि गर्न सक्छौ, गुणस्तरीय सामान निर्यात गर्नपनि सक्छौ’ उनले भने ।
नेपाल उद्योग परिसंघ प्रदेश नम्बर ३ का सयोजक ऋषिराम घिमिरेले हेटौडा औद्योगिक क्षेत्रले बार्षिक १२ देखि १४ अर्ब राजश्व बुझाउंँदै आएको जानकारी दिदै कच्चा पदार्थमा भन्सारदर घटाए अझ बढी राजश्व संकलन गर्न सकिने बताए ।
परिसंघ गण्डकी प्रदेशका संयोजक विनोद न्यौपानेले उद्योगमा राजनीतिक दुरुपयोग बढेको भन्दै नीतिमा भन्दा नैतिकतामा खडेरी भएको बताए । औद्योगिक वातावरण तयार गर्न उद्योगीले पनि सरकारलाई सहयोग गनुपर्ने उनको भनाई थियो ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले सरकारले दिएको नगद अनुदान दुरुपयोग भएको भन्दै व्याजमा अनुदान दिनुपर्नेमा जोड दिए । बस्तु आयातामा समेत मापदण्ड हुनुपर्ने भन्दै विष्टले अहिलेपनि ७० प्रतिशत मकै विदेशबाट आयात गर्नुपरेको बताए । पोल्ट्री क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेपनि सुविधा भने केही नभएको गुनासो गरे ।
सो अवसरमा अन्य उद्योगी व्यवसायीले उद्योगमैत्री , श्रममैत्री कानुन हुनुपर्ने, औद्योगिक सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने , व्याजदर घटाउनुपर्ने , विद्युत महसुल सहुलियत रुपमा उपलब्ध हुनुपर्ने माग गरेका थिए ।
सो अवसरमा बोल्दै अर्थमनत्रालयका सचिव लालशंकर घिमिरेले नागरिक र उपभोक्ताको हक र अधिकारले सरकारले बढी महत्व दिनुपर्ने हुंँदा उद्योगीका सबै माग सम्बोधन हुन नसकेको बताए। सबै क्षेत्रमा गरी १ अर्ब २५ करोड छुट सरकारले दिएको बताउंँदै घिमिरेले सबै क्षेत्रमा सन्तुलन मिलाउन सरकारको दायित्व रहने बताए । सरकार नीजि क्षेत्रसंँग सहकार्य गर्न तयार रहेको बताउंँदै सामुहिक प्रयासबाट समृद्धि ल्याउन सकिने बताए। कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडाले यसबर्ष समृद्धिको आधारबर्ष भएकोले नतिजा देखिन समय लाग्ने बताए । ‘अहिले जग बनाइएको छ, घर ठडिएपछि मात्रै नतिजा देखिन्छ ’ उनले भने । सबै उद्योगी व्यवसायीको सुझावलाई आफूले मनन गरेको भन्दै्र उनले सरकारले कानुनी सुधारसम्बन्धी श्रमऐन, कम्पनीऐन, भुमिऐन , सार्वजनिक खरीद ऐन लगायतका ऐनहरु सुधार गरिरहेको बताए । सबै उद्योगीको माग क्रमश सम्बोधन गर्दै लैजाने समेत उनले प्रतिबद्धता जनाए । कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया