बिक्री नभएपछि अण्डाको मुल्य घट्यो
बैशाख २, चितवन । अण्डाको बिक्री कम हुदैगएको भन्दै नेपाल अण्डा उत्पादक संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य घटाएको छ। खपत घट्दै गएपछि व्यवसायीहरुले घाटा व्यहोरेर लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न शुरु गरेका हुन । नेपाल अण्डा उत्पादक संघले आज विज्ञप्ति जारी गरी ठूलो नोक्सानमा अण्डा बिक्री गर्न बाध्य भएको बताएको छ । जस अनुसार उपभोक्ता मूल्य प्रतिगोटा १३ रुपैयांँमा बिक्री हुदै आएपनि आजबाट प्रतिगोटा अण्डाको मुल्य १० रुपैयांँ निर्धारण गरिएको छ ।
संघका अनुसार फुलको लागत प्रतिगोटा मूल्य रु.१०.५० पर्ने भए पनि कृषकले रु.६.६६ पाउने गरी मूल्य निर्धारण गरिएको छ । जसबाट एउटै फुलमा करिब रु.४ घाटा व्यहोर्नु परेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय उत्पादनको तुलनामा अण्डाको खपत दिनप्रतिदिन घट्दै गएको कारण अण्डाको मुल्य घटाउनु परेको अध्यक्ष कंडेलले बताए । ‘उत्पादन स्थिर छ, तर बिक्री निकै कम छ’ उनले भने । अण्डालाई धेरै समय भण्डारण गर्न नमिल्ने भएकोले पनि बाध्य भएर घटाउनु परेको उनले बताए । वर्तमानबजार अवस्था अनुसार दैनिक रु.१ करोड, ९२ लाख नोक्सानी सहनु परेको कँडेलको भनाई छ ।
विज्ञप्तिमा भनिएको छ “देशमा आत्मनिर्भर व्यवसायले दिनहुँ घाटा सहनु परेको अवस्थातर्फ राज्यको ध्यानकषर्ण गराउन चाहन्छौ ।”


संघका तथ्यांक अनुसार चितवनमा प्रतिदिन झण्डै २२ लाख अण्डा उत्पादन हुदै आएको छ भने नेपालमा हाल दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुने गर्दछ ।
तपाइँको प्रतिक्रिया