२०७५ साल : चितवनमा १५५ जनाको दुर्घटनामा मृत्यु

चितवन, वैशाख २ – जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २३५ गम्भीर घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ ।
कार्यालयका अनुसार अघिल्लो वर्ष २८९ दुर्घटनामा १३० को मृत्यु भएको थियो भने २२३ गम्भीर घाइते भएका थिए ।कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताउनुभयो ।चोक चोकमा प्रहरी जनशक्ति परिचालन गर्न नसक्नु र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाइ छ ।
प्रहरीले सवारी चालक अनुशिक्षण, नियम पालना नगर्नेलाई जरिवाना, विद्यार्थीलाई ट्राफिक जनचेतना शिक्षा, ट्याम्पो चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, सडकमा गरिने पार्किङ व्यवस्थित गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।देशकै मध्यभागमा पर्ने यस जिल्लामा पूर्वपश्चिम राजमार्गसँगै पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा सवारीको निकै चाप हुने गर्दछ । ग्रामीण क्षेत्रमा पक्की सडक बनेसँगै युवा तन्नेरीले मोटरसाइकल र गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्दै गएको छ । (रासस)
तपाइँको प्रतिक्रिया