अंक दुरी बढाउदै चेन्नाई

बैशाख २ – इन्डियन प्रिमियर लिगको शिर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्सले अंक दुरी बढाएको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले अंक दुरी बढाएको छ । यो जित सँगै चेन्नाईको ८ खेलबाट १४ अंक भएको छ । उसले ७ खेलमा जित हात पार्दा १ खेल गुमाएको छ । चेन्नाई दोस्रो स्थानमा रहेको दिल्ली भन्दा ४ अंकले अघी रहेको छ ।
एडेन गार्डनमा कोलकताले दिएको १६२ रनको लक्ष्य चेन्नाईले २ बल बाँकी हुँदा मात्र ५ विकेट गुमाएर भेट्टायो । चेन्नाईको जितमा सुरेश रैना नायक बने । उनले ४२ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५८ रनको महत्वपूर्ण पारी खेले । उनलाई रबिन्द्र जडेजाले नट आउट ३१ रन बनाउदै साथ दिए । फाप डु प्लेसिसले २४ बनाएर आउट भए भने केदार जादव २० तथा कप्तान महेन्द्र सिंह धोनीले १६ रन बनाए । कोलकताका सुनिल नारायण र पियुष चाउलाले समान २-२ तथा हेरी गुर्नीले १ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६१ रन बनाएको थियो । कोलकताका ओपनर क्रिस लिनले ८२ रनको महत्वपूर्ण पारी खेले । उनले ५१ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । यस्तै नितिश रानाले २१ रन बनाउदा अन्य ब्याट्सम्यानको प्रदर्शन सामान्य रह्यो । चेन्नाईका इम्रान ताहिरले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २७ रन खर्चदै महत्वपूर्ण ४ विकेट लिए । यस्तै सार्दुल ठाकुरले २,मिचेल सान्टनेर १ विकेट हात पारे । (एजेन्सी)
तपाइँको प्रतिक्रिया