उपराष्ट्रपति पुनको शुभकामना सन्देश, २०७६ विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने विश्वास

काठमाडौं, बैशाख १ – उपराष्ट्रपति नन्दबहादुर पुनले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
नव बर्षको अवसरमा शुभकामना सन्देश दिदै उपराष्ट्रपति पुनले देश ‘समृद्ध नेपाल सुखी नेपाली’ को नाराका साथ स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको बताएका छन् । विसं २०७५ विकास र समृद्धिका लागि बलियो जग बनाएर बिदा भएको बताउदै पुनले नयाँ वर्ष आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने विश्वास ब्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य भएको उल्लेख गरेका छन् । यस्तै उनले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै जानुपर्नेमा जोड दिएका छन् ।


तपाइँको प्रतिक्रिया