बर्ष २०७५ का ५ सफल चलचित्रहरु

सुशिल पन्त, चैत्र ३० – सधैं झै यस बर्ष पनि करिब १ सय जतीको संख्यामा नेपाली चलचित्रहरु प्रदर्शन भए । तर प्रदर्शन भएका सबै जसो चलचित्र फ्लप भए । एकाध केही चलचित्रलाई छोड्ने हो भने अधिकांश निर्माण गरेका निर्माताहरुको पैसा बालुवामा पानी हाले झै भयो । कतीपय निर्माता त उठ्नै नसक्ने गरी पछारिएका छन् ।
यस बर्ष सुपरस्टार भनिएकाहरुको फिल्म पनि सुपरफ्लप भएका छन् । केही फिल्मले भने आलोचनाका बाबजुत पनि निर्मातालाई सेफ ल्याण्डिङ गराउन सफल भएको छ । बर्षको अन्त्यमा प्रदर्शनमा आएका चलचित्रहरुबाट ठुलो आशा गरिएको थियो । तर तिनले पनि आशातित ब्यापार गर्न सकेनन् । आज हामी बर्ष २०७५ मा सुखद ब्यापार गरेका ५ चलचित्र बारे चर्चा गर्दैछौ ।
५) रामकाहानी


सुदर्शन थापा निर्देशित यो चलचित्रबाट ठुलो आशा गरिएको थियो । निर्माण घोषणा देखी नै चर्चा र मिडियामा गसिपको बिषय बनेको ‘रामकाहानी’ को ब्यापार औषत रह्यो । मल्टिस्टारर फिल्म भएकै कारण यस चलचित्रले औषत ब्यापार गर्यो । चलचित्र ‘रामकहानी’ ले २.३ करोडको ब्यापार गर्यो । यो ब्यापारले निर्मातालाई सेफ गराए पनि नाफा भने खास्सै गर्न सकेन । चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् । भाद्र २२ गते प्रदर्शन भेएको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार प्रसाद घिमिरे, जितु नेपाल, विल्सन बिक्रम राई, रबिन्द्र झा, शिशिर राणा, बिशाल पहारी लगायतको अभिनय रहेको छ । चलचित्रमा निर्देशक तथा निर्माता थापाको नै कथा रहेको छ ।
४) क्याप्टेन
अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ ले धेरै नै आलोचना खेप्नु पर्यो । अत्याधिक भिएफएक्स प्रयोग गरिएको चलचित्र ‘क्याप्टेन’ भिएफएक्सकै कारण आलोचित भयो । तर अनमोल केसीको फ्यान क्रेजकै कारण चलचित्रले औषत ब्यापार गर्यो । भुवन केसी निर्मित चलचित्रले २.५ करोड बराबरको ब्यापार गरेको छ । यो ब्यापारले निर्मातालाई केही राहत दिए पनि सोचे अनुसार ब्यापार भने चलचित्रले गर्न सकेन । फाल्फुन १७ गते प्रदर्शन भएको चलचित्र ‘क्याप्टेन’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि भट्टराईले नै लेखेका हुन् । चलचित्रमा अनमोलको अलावा सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई, राजाराम पौडेल, उपासना सिंह ठकुरी, प्रियंका एमभी आदिको मुख्य अभिनय रहेको छ ।
३) जय भोले
भेट्रान निर्देशक अशोक शर्मा निर्देशित चलचित्र जय भोले दसैंको छेको पारेर प्रदर्शन भएको थियो । चलचित्रले दर्शकबाट राम्रै प्रतिकृया पायो । ‘जय भोले’ यो बर्ष निर्मातालाई बचाउन सफल अर्को चलचित्र बन्यो । असोज ३० गते प्रदर्शन भएको ‘जय भोले’ ले २.५ करोडको ब्यापार गर्यो । अशोक शर्मा निर्देशित ‘जय भोले’ मा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दी तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धारा भुषाल लगायतको अभिनय रहेको छ । चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् ।
२) नाई नभन्नु ल ५
नेपालको सबै भन्दा धेरै सिक्वेलको रेकर्ड राख्न सफल चलचित्र ‘नाई नभन्नु ल’ को पाचौ सिरिज ‘नाई नभन्नु ल ५’ यो बर्षको सफल चलचित्रमा परेको छ । यो चलचित्रलाई धेरैले ‘नाई नभन्नु ल’ पछीको राम्रो सिक्वेलको रुपमा समेत व्याख्या गरे । बिकासराज आचार्य निर्देशित चलचित्रको कथा सामिप्यराज तिमल्सिना र निर्देशक आचार्यले लेखेका हुन् । भाद्र ८ गते प्रदर्शन भएको यो चलचित्रले ३ करोडको ब्यापार गर्यो । चलचित्रका निर्माताहरु हरिबोल भण्डारी र गौरी राज जोशीको लगानी खेर गएन । यो चलचित्र धेरै हिसाबले बिशेष रहेको छ । यही चलचित्रबाट एक समयकी चर्चित अभिनेत्री निरुता सिंहले फेरी कलिउडमा कमब्याक गरिन् । यही चलचित्रबाट नेपालका सदाबहार नायक दिलिप रायमाझीले लामो समय पछी कमब्याक गरे । निरुता र दिलिपको कमब्याक सुखद रह्यो । यस्तै चलचित्रले अभिनयकी खानि भएकी बाल कलाकार सेड्रिना शर्मालाई जन्म दियो ।चलचित्रमा अन्य कलाकारहरुमा प्रियका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी लगायतको पनि चलचित्रमा मुख्य अभिनय रहेको छ ।
१) छक्का पन्जा ३
दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ लाई दर्शकहरुले अत्याधिक रुचाए । दसैंमा प्रदर्शन भएको सुपर हिट चलचित्र ‘छक्का पन्जा’ को तेस्रो सिरिज ‘छक्का पन्जा ३’ नेपालको अल टाइम ब्लकबस्टर फिल्म बनेको छ । असोज २४ गते प्रदर्शन भएको यस चलचित्रले १७ करोडको ब्य्पार गर्यो । कुनै पनि नेपाली चलचित्रले सबै भन्दा धेरै ब्यापार गरेको ‘छक्का पन्जा’ ३ नै हो । यसले नेपाली चलचित्रको सबै रेकर्ड तोड्यो । ‘चलचित्र ‘छक्का पन्जा ३’ ‘पहिलो नम्बरमा’ बोलको गीत निकै चर्चा बटुल्न सफल भएको थियो। चलचित्रमा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, दीपक शर्मा छन्। साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत रहेका छन्। चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन्।
तपाइँको प्रतिक्रिया