सिंगापुरमाथि नेपालको फराकिलो जित

चैत्र ३० – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको विशाल जित दर्ता गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ ओभरमा ६५ रनमै अलआउट भएको हो ।
२ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा अल आउट हुँदै ६५ रनमा समेटियो । उसका लागि ईशान सावनीले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । ईशानलाई ३० ओभरको पाँचौ बलमा सुर्य तामाङले भीम सार्कीबाट क्याच आउट गराए । त्यस्तै साई भेनुगोपालले ४५ बलमा ३ चौका सहित १८ रन जोडे । अर्नव चबरिया २,अमन देसाईं १,प्रमेश सिंहवी ७,श्रीदेब १, रनमा आउट भए । सिंगापुरका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि पवन सरार्फले ६ ओभरमा ५ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ८ ओभरमा ३ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुर्य तामाङ २ र राशिद खानको नाममा १ विकेट रह्यो ।त्यस अघि कप्तान राहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४६ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो ।


मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका कप्तान रोहित कुमार पौडेल ९५ रन जोड्दै क्याचआउट भए । रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । उनी ४६ औं ओभरको पहिलो बलमा अथर्व गुनेको बलमा भेनुगोपालको हातबाट क्याचआउट भएका हुन् ।
कमलसिंह ऐरी १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दै कट बिहाईन्ड भए । सूर्य तामाङ पहिलो बलमै विकेट किपरको हातबाट समातिए ।शीर्षक्रमले अपेक्षित प्रदर्शन गर्न नसक्दा सातौं विकेटका लागि रोहित र राशिद खानले ७७ रनको आक्रमक साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म लगे । ४१ औं ओभरको चौथो बलमा रोहितसँग रनको तालमेल गर्न नसक्दा राशिद ४८ रन जोड्दै रनआउट भए । राशिदले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
ओपनर पवन सरार्फ अर्धशतक पुरा गर्न ३ रनले चुके । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २(२ तथा सिंघवीले १ विकेट लिए ।नेपालले दोस्रो खेल शनिवार यूएईसँग खेल्ने छ ।
तपाइँको प्रतिक्रिया