सात हजार औषधी पसल बिना दर्ता सञ्चालन, २० हजारमा फार्मासिस्ट नै छैनन्

चैत्र २९,काठमाडौं । नेपालमा सात हजारभन्दा बढी औषधी पसलहरु बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरिएको ५६ औ प्रतिवेदनमा सात हजारभन्दा बढी ओषधी पसलहरु औषधी व्यवस्था विभागमा दर्ता नभएर सञ्चालनमा रहेको उल्लेख छ ।
औषधी व्यवस्था विभागको तथ्यांक अनुसार २१ हजार ६ सय ५१ औषधी पसल दर्ता भएका छन् । देशभर औषधी व्यवसायी संघमा २८ हजार ६ सयभन्दा बढी औषधी पसल सञ्चालन
आएको पाइएको छ । सोही तथ्यलाई आधार मान्दा सात हजारभन्दा बढी पसलहरु बिना दर्ता सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
औषधी ऐन-२०३५ को दफा १० मा औषधी बिक्री वितरण गर्न पसल वा फर्म दर्ता गराउनुपर्ने व्यवस्था छ । तर सो अनुसार नभएको प्रतिवेदनले देखाएको छ । औषधी ऐन-२०३५ को दफा १७ मा औषधी बिक्री वितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर सो ऐनविपरित औषधी पसलहरु सञ्चालनमा आएको पाइएको हो ।
त्यसैगरी नेपाल फार्मेसी काउन्सिलमा जम्मा ७ हजार ७ सय ५७ जना फार्मासिस्ट दर्तामा छन् । जसमा २ हजार ७ सय ११ फार्मासिस्ट दर्ता भएका छन् भने फार्मेसी सहायक ५ हजार ४७ जना छन् । “हाल सञ्चालनमा आएका २० हजार ८ सय ४३ औषधी पसलमा फर्मासिष्ट वा फार्मेसी सहायक छैनन् । यसरी गैरफार्मासिष्ट वा फार्मेसी सहायकले बिक्रि वितरण गरेको औषधी पनि
प्रभावकारी हुँदैन् । औषधी व्यवस्था विभागले त्यसको यकिन गरेर कारबाही गनुपर्ने छ”, प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, यस वर्ष औषधी व्यवस्थापन विभागले १८ हजार ७ सय ९८ वटा पसल अनुगमन गरेकोमा २ सय ५६ औषधी पसललाई कारबाही गरेको छ । प्रतिवेदनमा विभागमा १ सय १५
जनाको दरबन्दीमा ४४ जनाको पद अझै रिक्त रहेको उल्लेख छ । त्यसलाई परिपुर्ति गरेर विभागले औषधी निरीक्षकहरुको व्यवस्था गरी अनुगमन कार्य प्रभावकारी बनाउन महालेखाले सुझाव दिएको छ । बाह्रखरी
तपाइँको प्रतिक्रिया