देवघाटमा शिवमूर्ति बनाउन काठमाडौमा महायज्ञ, यस्तो छ तयारी

काठमाडौँ चैत्र २८ – चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अष्टधातुबाट शिवको मूर्ति निर्माण गर्नका लागि धातु र अर्थ सङ्कलन गर्न अभियान चलाइएको छ । अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि अभियान थालिएको देवघाट संरक्षण प्रतिष्ठानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यहाँ चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाममिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ । यसअघि विभिन्न जिल्लामा महायज्ञ सञ्चालन गरेर धातु र अर्थ सङ्कलन गरेको प्रतिष्ठानले आगामी वैशाख १ देखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथमा महायज्ञ आयोजना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिए । “साँगामा बनेको शिवमूर्तिको दर्शन गर्न काठमाडौँ आएका धार्मिक पर्यटक पुगेकै हुन्छन्, त्यस्तै देवघाटमा बन्ने शिवमूर्तिले पनि पर्यटक भित्र्याउन अवश्य सहयोग गर्छ,” संयोजक पाण्डेले भने ।
पशुपतिनाथस्थित हंसमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’मा रु तीन करोड सङ्कलन गर्ने लक्ष्य राखिएको बताउँदै प्रतिष्ठानका महासचिव मदन मिश्रले शिवमूर्ति निर्माणपछि देवघाटको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । उहाँले घरमा थन्किएका धातुसहित सक्दो आर्थिक सहयोग गर्न आग्रह गरे । पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा हुने महायज्ञमा तीन करोड बेलपत्र चढाउने तथा एक करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।
तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्वीन्टल धातु र रु ३२ लाख सङ्कलन भएको तथा सरकारबाट रु ५० लाख सहयोग प्राप्त भएको छ । महायज्ञमा रु एक लाख दान गर्ने संस्थापक सदस्य र रु पाँच लाख दान गर्ने व्यक्ति स्वतः संस्थापक सदस्य र संरक्षक हुने व्यवस्था छ ।
महायज्ञका मिडिया संयोजक नारायण ढङ्गानाले शिवमूर्तिसहित आकर्षक उद्यान तथा विश्रामस्थल र आश्रम निर्माण हुन सके देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका ठूलो टेवा पुग्ने बताए । महायज्ञ मूल समारोह समितिका सचिव युवकराज पराजुलीले धर्म र पर्यटन अन्तरराष्ट्रिय समुदायको आकर्षण र देशको समृद्धिका वाहक भएको उल्लेख गर्दै हरेक नेपालीको अपनत्व हुने गरी शिवमूर्ति निर्माण गर्न लागिएकाले सहयोगका लागि सबैमा आग्रह गरे ।
महायज्ञअघि नै रु २३ लाखको घोषणा
महायज्ञ शुरु हुनु अगावै विभिन्न क्षेत्रका समाजसेवीबाट रु २३ लाखको प्रतिबद्धता प्राप्त भएको जनाइएको छ । तेइस जनाले अहिले नै रकम दिन खोज्नुभएको थियो तर आयोजकले महायज्ञकाअवसरमा हस्तान्तरण गर्न अनुरोध गरेपछि तत्काललाई पैसा हस्तान्तरण रोकिएको प्रतिष्ठानका महासचिव मिश्रले पत्रकारलाई जानकारी दिए ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल निवासी बनाथकाजी श्रेष्ठले धार्मिक क्षेत्रको विकास गर्न लागिएकाले रु एक लाखमाथि रकम सहयोग गर्ने आज पत्रकारमाझ घोषण गरे । “यस्ता धार्मिक क्षेत्रको संरक्षण गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ, सबैलाई मेरो आग्रह छ, धर्म, संस्कृति, संस्कार रीतिरिवाजको जगेर्ना हामीहरुले नै गर्ने हो, आउनुहोस् तन, मन धनले सहयोग गरौँ,” श्रेष्ठले भने ।
तपाइँको प्रतिक्रिया