जुगेडी मेट्रो कपको फाइनलमा,उपाधीका लागि मकवानपुरको सामना गर्ने

भरतपुर, चैत्र २८ – जुनियर प्रहरी तालिम शिक्षालय भरतपुरलाई पराजित गर्दै जु फुटबल क्लब जुगेडी दोस्रो प्रदेश स्तरीय भरतपुर मेट्रो कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा जुनियर प्रहरी तालिम शिक्षालयलाई ३-० ले पराजित गर्दै जुगेडीले फाइनलमा स्थान पक्का गरेको हो ।
जुगेडीको जितमा निराजन मल्लले २ तथा राम बहादुर मगरले १ गोल गरे । खेलमा तिनै गोल दोस्रो हाफमा भएको थियो । खेलको ४६ औं मिनेटमा राम बहादुर मगरले गोल गर्दै जुगेडीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा निराजनले जुगेडीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा निराजनले नै ब्यक्तिगत दोस्रो गोल गरेपछी जुगेडी ३-० ले बिजजी भयो । खेलको म्यान अफ दि म्याच २ गोल गरेका जुगेडीका निराजन मल्ल घोषित भए ।
उपाधीका लागि जुगेडीले राप्ती रिभर्स क्लब (आरआर) मकवानपुरको सामना गर्नेछ । मकवानपुर यस अघी बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा काली बहादुर गण भरतपुर ब्यारेकलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल ३० गते शनिबार हुने आयोजक कैलाश युथ क्लबक अध्यक्ष किरण मरहट्टाले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद रु १ लाख ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । यसै बिच शुक्रबार भरतपुर ११ का भेट्रान खेलाडीहरु बिच मैत्रिपूर्ण फुटबल हुने आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया