रोमान्चक जित हात पार्दै आरआर मकवानपुर फाइनलमा

भरतपुर, चैत्र २७ – राप्ती रिभर्स क्लब (आरआर) मकवानपुर दोस्रो प्रदेश स्तरीय भरतपुर मेट्रो कप खुल्ला नक आउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा काली बहादुर गण भरतपुर ब्यारेकलाई पराजित गर्दै आरआर मकवानपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
कैलाश युथ क्लबको मैदानमा भएको खेलमा आरआर मकवानपुरले काली बहादुर गणलाई ४-३ ले स्तब्ध पार्यो । खेलमा अग्रता भने काली बहादुर गणले लिएको थियो । नवौं मिनेटमा छिरिङ तामाङले गोल गर्दै काली बहादुर गणलाई शुरुवाती अग्रता दिलाएका थिए । तर १९ औं मिनेटमा आरआर मकवानपुरले बराबरी गोल गर्यो । उसका लागि अमृत गोलेले शुरुवाती गोल गरे ।
खेलको २४ औं मिनेटमा मकवानपुरले अग्रता लियो । बिजय लामाले मकवानपुरका लागि दोस्रो गोल गरेपछी खेल २-१ मा पुग्यो । ३२ औं मिनेटमा अमित श्रेष्ठले गोल गरेपछी मकवानपुरले अग्रता ३-१ मा पुरायो । पहिलो हाफमै काली बहादुर गणले खेलमा फर्कने संकेत गर्यो । पहिलो हाफको इन्जुरी समयमा सनम गुरुङले गोल गरेपछी काली बहादुर गणले मकवानपुरको अग्रता ३-२ मा झार्यो ।


दोस्रो हाफमा मकवानपुरले थप गोल गर्यो । ५५ औं मिनेटमा अमृत गोलेले ब्यक्तिगत दोस्रो गोल गरेपछी मकवानपुरले ४-२ को अग्रता लियो । ७४ औं मिनेटमा काली बहादुर गणका लागि प्रेम कुँवरले गोल गरेपनी हार टार्न सकेनन् र मकवानपुर ४-३ ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच २ गोल गरेका मकवानपुरका अमृत गोले घोषित बहे ।
जित सँगै मकवानपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरले अब उपाधीको लागि जुगेडी र जुनियर प्रहरी तालिम शिक्षालय भरतपुर बिचको बिजेता सँग खेल्नेछ । जुगेडी र जुनियर प्रहरी तालिम शिक्षालय बिचको खेल बिहीवार हुनेछ ।
तपाइँको प्रतिक्रिया